ललितपुर । सहकारी बैङ्कले ६८ विद्यालयमा युवा क्लब गठन गर्ने भएको छ । विद्यार्थीहरूलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैङ्कले ६८ वटा सामुदायिक विद्यालयमा सहकारी युवा क्लब गठन गर्ने भएको हो ।
बैङ्कको वार्षिक कार्यक्रम अनुसार सबै शाखाहरू मार्फत सामुदायिक विद्यालयहरूमा अन्तरक्रिया, छलफल तथा तालिमको आयोजना गरी सहकारी युवा क्लब गठन गर्न लागिएको हो ।
बैङ्कका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा आइतवार बसेको सञ्चालक समितिको बैठकले ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बैङ्कका ६८ वटा शाखा मार्फत एक एक वटा सामुदायिक विद्यालयमा सहकारी सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
सहकारी दिवसका अवसरमा सबै शाखाहरूलाई एक एक वटा विद्यालयमा सहकारी सचेतना सम्बन्धी कार्यक्रम गरी सहकारी युवा क्लब गठन गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए ।
सहकारी बैङ्कको युवा लक्षित कार्यक्रम अन्तरगत युवा विद्यार्थीहरूलाई सहकारीका बारेमा सचेत बनाउने योजना बनाएका थियौ, बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले भने ‘वार्षिक कार्यक्रम अन्तरगत सहकारी दिवसको सन्दर्भ पारेर विद्यालयमा सहकारी युवा क्लब गठन गर्दै छौ ।’
युवाहरूलाई सहकारीमा आकर्षण गराउन तथा सहकारीप्रतिको सकारात्मक धारणामा विकास गर्नका लागि सहकारी युवा क्लबहरूमा आबद्ध हुने युवा विद्यार्थीहरूलाई परिचालन गरिने उनको भनाइ छ ।
सहकारी युवा क्लबमार्फत विद्यालयहरूमा सहकारी सचेतना, वित्तीय साक्षरता, निबन्ध प्रतियोगिता लगायत विविध रचनात्मक र सृजनशील कार्यक्रम गरिने बैङ्कले जनाएको छ ।
राष्ट्रिय सहकारी दिवसका अवसरमा नेपाल सरकार र सहकारी अभियानका तर्फबाट आयोजना हुने सहकारी दिवस मूल समारोह हरुवा बैकका तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय पनि बैङ्कले गरेको छ ।
Leave a comment