चीना थापा, विराटनगर । सहकारी दिवस मूल समारोह समितिले सबै सहकारी संस्थालाई हरियो पृष्ठभूमिको कपडा या फ्ल्याक्समा ३/६ को ब्यानर बनाउन आग्रह गरेको छ ।
चैत २० गते मनाइने ६४ औँ सहकारी दिवसको दिन कार्यक्रममा सहभागी भई उत्कृष्ट प्रस्तुति देखाउनेलाई समितिले सम्मान गर्ने भएको हो ।
उक्त दिन निकालिने र्यालीमा सहभागी संस्थाहरूको सङ्ख्या, तिनीहरूको मौलिक पहिचान र झाँकी सहितको मूल्याकंन गरी प्रथम, द्धितय र तृतियलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार दिने मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलले जानकारी दिए ।
दिवसका दिन आफूले उत्पादन गरेका वस्तुको प्रदर्शन गर्न चाहने सहकारीहरूलाई चैत १८ गतेसम्म जानकारी दिन समितिले आग्रह गरेको पोखरेलले बताए । ६४ औँ राष्ट्रिय सहकारी दिवस मोरङको पतरी / शनिश्चरेमा मनाइने भएको छ ।
दिवस मनाउन जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
समितिमा विषयगत सहकारी सङ्घका पदाधिकारी एवम् सञ्चालकहरू, जिल्लाका पालिकाका संयोजक एव सदस्यहरू, सहकारी कर्मचारी सङ्गठनका पदाधिकारी एवम् सञ्चालकहरू, राष्ट्रिय सहकारी बैङ्क र अग्रज सहकारीकर्मीहरु समेत रहेका छन् ।
त्यसै गरी पोखरेलकै अध्यक्षतामा सबै विषयगत सङ्घका अध्यक्ष, सहकारी कर्मचारी सङ्गठनका अध्यक्ष, जिल्ला सहकारी सङ्घका संचालक द्धय युवराज भट्टराई, योगराज पौडेल, जिल्ला बचत सङ्घका वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइराला, उपाध्यक्ष बिना राई, सचिव एकराज निरौला समेत रहेको व्यवस्थापन समिति निर्माण गरेको छ भने समितिको सदस्य सचिवमा जिल्ला सहकारी सङ्घ मोरङ्गका सचिव वीरेन्द्र यादवलाई तय गरेको छ ।
राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको संयोजकत्वमा सहकारी रजिस्ट्रार बलराम निरौलासहित सहकारीका केन्द्रीय निकायमा प्रतिनिधित्व गर्ने सहकारीकर्मी हरुको सल्लाहकार समिति समेत गठन गरिएको छ ।
समितिले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमका साथ सहकारी दिवस मनाउन सबै सङ्घ / संस्थालाई अनुरोध गर्नुका साथै चैत्र १८ गते विराटनगर, बेलबारी/ सुन्दरहरैचा, पथरी शनिश्चरे/उर्लाबारी र रंगेलीमा बृहत् मोटरसाइकल र्याली गर्ने निर्णय समेत गरेको छ ।
चैत्र १९ गते साँझ ७ बजे सहकारी सङ्घ / संस्थाका कार्यालयहरूमा दीपावली गर्नेसमेत निर्णय गरिएको मूल समारोह समितिका संयोजक पोखरेलले जानकारी दिए । समितिका सदस्य सचिव वीरेन्द्र यादवका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।
बिना राईको संयोजकत्वमा हल, मञ्च व्यवस्थापन, गणेश राईको संयोजकत्वमा स्यम्सेवक परिचालन, पार्वती बरालको संयोजकत्वमा भाँकी र्याली र स्वागत सत्कार उपसमितिको जिम्मेवारी अष्टलक्ष्मी साकोसलाई दिइएको छ । मोटरसाइकल र्यालीका लागि विराटनगर मा अमृत गुरुङ, रङेली कमलेश्वर ठाकुर, पथरी / उर्लाबारी एकराज निरौला, सुन्दर हरैचा/बेलवारीका लागि रवीन्द्र आचार्यलाई संयोजक तोकिएको छ ।
यस वर्षको सहकारी दिवसका दिन नेपालमा सहकारी संस्था स्थापना गर्ने पहिलो ब्यक्तिन बखानसिंह गुरुङको अर्ध कदको सालिक पनि पथरी/शनिश्चरेमा अनावरण गर्ने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए । उक्त सालिक सहकारी कर्मचारी सङ्गठन पथरी शनिश्चरेको पहलमा निर्माण गरिएको हो ।
Leave a comment