महासङ्घले दिएन प्रस्तावित सहकारी बैङ्कको सिफारिस

महासङ्घले दिएन प्रस्तावित सहकारी बैङ्कको सिफारिस :: Sahakari Akhabar

काठमाडौँ । प्रस्तावित नेपाल सहकारी बैङ्क स्थापनाको विषयमा राष्ट्रिय सहकारी महासङ्घ मौन रहेको छ । सहकारी बैङ्क स्थापना कालागि सहकारी विभागले राष्ट्रिय सहकारी महासङ्घको सिफारिस मागे पनि सङ्घमा छलफल  मात्र भएको छ ।

सङ्घीय सहकारी विभागले महासङ्घ र राष्ट्र बैङ्कको सिफारिस आवश्यक भएको भन्दै पत्र पठाए पनि नेपाल सहकारी बैङ्क स्थापनाका विषयमा महासङ्घमा मत बाझिएपछि कुनै निर्णय नभएको स्रोतले जानकारी दिएको छ ।

बिहीबार बसेको महासङ्घको सञ्चालक समितिको बैठकमा बैङ्क दर्ताको विषयमा छलफल मात्र भएको हो । सहकारी नियमावली २०७५ अनुसार सहकारी बैङ्क गठन गर्न राष्ट्रिय सहकारी महासङ्घको सिफारिस अनिवार्य गरेको छ ।

प्रस्तावित नेपाल सहकारी बैङ्कले तदर्थ समिति बनाई दर्ताका लागि फागुन २५ गते सङ्घीय सहकारी विभागमा फाईल पेस गरेको थियो ।सहकारी विभागले बैङ्क दर्ताको लागि महासङ्घसँग सिफारिस माग गरेपछि आजको बैठकमा छलफल भएको हो ।

आज भएको छलफलले सिफारिस भने दिएको छैन । बैङ्कका विषयमा थप छलफल गर्ने महासङ्घका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए । सहकारी विभागले नेपाल राष्ट्र बैङ्कलाई पनि पत्राचार गरिसकेको छ । बैङ्क दर्ताको लागि नेपाल राष्ट्र बैङ्कको पनि पूर्व स्वीकृति आवश्यक पर्दछ ।



Leave a comment