पोखरा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले हरेक क्षेत्रमा महिलाहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन् । समाज रूपान्तरणका लागि महिलाहरूको हरेक ठाउँमा महत्त्वपूर्ण भूमिका रहनुपर्ने बताइन ।
राष्ट्रिय सहकारी महासङ्घले पोखरामा आयोजना गरेको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक २ दिने गोष्ठीको उद्घाटन गर्दै उनले संविधानले महिलाको ३३ प्रतिशत सहभागिता ग्यारेन्टी गरेको बताइन् ।
अझै पनि राज्यका निकाय तथा सामाजिक सङ्घ संस्थाहरूमा महिलाहरूको अर्थपूर्ण सहभागिता छैन, उनले भनिन् । ‘सहभागिता र संलग्नता मात्रै होइन समाज रूपान्तरणका सबै महत्त्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ ।’
उनले मुलुकको स्थिर समृद्धिका लागि सहकारीमा रहेको श्रम, शक्ति र पुँजीलाई आर्थिक विकासमा जोड्नु पर्ने बताइन् । सहकारीका कानुन वाधक भएमा समयानुकूल परिमार्जन गर्न सकिने मन्त्री तुम्बाहाम्फेले बताइन् ।
कार्यक्रममा सङ्घीय सभाका सदस्यहरू मन कुमारी केसी जिसी र विद्या भट्टराईले सहकारी क्षेत्रको प्रवर्द्धन गरी उद्यमशीलताको विकास मार्फत महिला र युवाहरूलाई समाज रूपान्तरणमा सक्रिय बनाउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी महासङ्घका निवर्तमान अध्यक्ष केशव बडालले समाजमा विद्यमान बहु आयामिक गरिबी न्यूनीकरणमा सहकारी र स्थानीय तहबिचको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरू, गण्डकी प्रदेशबाट सहकारीका केन्द्रीय सङ्घमा प्रतिनिधित्व गर्ने सहकारीका अगुवाहरू, जिल्ला सहकारी सङ्घ तथा विषयगत सहकारी सङ्घका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत २ सय जनाको सहभागिता रहेको थीयाे ।
Leave a comment