बागलुङ । रेश साना किसान सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ७ को आयोजनामा संस्थाका शेयर सदस्यका लागि सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष याम बहादुर कार्कीले सहकारीका सदस्यहरुलाई उनीहरुको काम कर्तव्य अधिकारका बारेमा जानकारी गराउनुका साथै सदस्यहरुलाई संस्थाप्रति उत्तरदायी बनाउ तालिम आयोजना गरिएकोे बताए ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीको सफलताका लागि शेयर सदस्यहरुको सक्रिय सहभागितामा जोड दिए ।
सदस्य नै सहकारीका मालिक भएकाले उनीहरुलाई बढी भन्दा बढी सहकारीसँग सम्बन्धित बनाउने, उनीहरुलाई संस्थाले सञ्चालन गरेका सबै कार्यक्रममा सहभागी बनाउने योजना आवश्यक रहेको उनको भनाइ छ ।
काठेखोला वडा नं. ७ का वडा सदस्य मुक्तिराज थापा, वडा सचिव रिता जिसी कुँवरले सहकारीलाई प्रभावकारी बनाउनका लागि सहकारी शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सदस्यहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
तालिमका सहभागी भीम कुमारी जिसीले सदस्यहरुलाई सक्रिय रुपमा संस्थामा कारोबार गर्न तथा सस्थाका कार्यक्रमहरुमा सक्रिय सहभागिताका लागि तालिम सहयोगी भएको बताइन् ।
तालिम कार्यक्रम संस्थाका अध्यक्ष यामबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष उजेली शर्माको स्वागत र प्रबन्धक उषा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
संस्थामा हाल १ सय २० समुह, ८ सय जना शेयर सदस्य छन् । संस्थामा ३५ लाख शेयर रकम, १ करोड ७७ लाख वचत, २ करोड १ लाख रुपैया कर्जा लगानी रहेको प्रवन्धक थापाले जानकारी दिइन् ।
Leave a comment