शुक्लागण्डकी नगरपालिकामा  सहकारीमा सुशासन गोष्ठी 

शुक्लागण्डकी नगरपालिकामा  सहकारीमा सुशासन गोष्ठी  :: Sahakari Akhabar

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धी एक दिने गोष्ठी मंगलवार सम्पन्न भएको छ । सहकारी रजिष्ट्रार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय सहकारी बैंक दमौली शाखाको संयुक्त आयोजनामा तनहुँको दुलेगौडामा आयोजित कार्यक्रममा सहकारीको योगदान बढाउनका लागि सुशासन निर्माणमा जोड दिएका हुन् ।

सहकारीलाई सुशासनयुक्त बनाउनका लागि सहकारी ऐन, नियमावली, विनियम र कार्यविधिका आधारमा सहकारीहरु सञ्चालन गर्ने, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारीमार्फत जनताको आर्थिक, सामाजिक जीवनस्तर थप प्रभावकारी बनाउनका लागि सहकारी ऐन कानुनको परिपालनामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको अवस्था र आगामी योजनाका बारेमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले जानकारी गराएका थिए । शुक्लागण्डकी नगरपालिकाका निमित्त प्रमख प्रशासकीय अधिकृत नवराज पण्डितले स्थानीय तहमा सहकारी ऐन नियम प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । शुक्लागण्डकी नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीका ५० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 



Leave a comment