पाँचतारा साकोसको एटिएम कार्ड निशुल्क 

पाँचतारा साकोसको एटिएम कार्ड निशुल्क  :: Sahakari Akhabar

काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई एटिएम कार्ड निशुल्क प्रदान गर्ने भएको छ । संस्थाले नियमति मासिक बचत गर्ने र उद्यम कोष खाता खोल्ने सदस्यहरुलाई बिना शुल्क एटिएम कार्ड उपलब्ध गराउने भएको हो ।

उक्त बचतमा सहभागी नहुने सदस्यले भने बार्षिक २५० रुपैया शुल्क लाग्ने जनाइएको छ । सदस्यको सुविधाकालागि संस्थाले आफ्नै भवनमा एटिएम मेशिन राखेर सेवा सुरु गरेको हो । एटिएम सेवाको मंगलबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घघाटन गरेका थिए । सदस्यहरुलाई प्रबिधिसंग जोड्न एटिएम सेवा प्रवाह गरेको संस्थाका अध्यक्ष भोलानाथ पाठकले बताए । उनले संस्थाले यस भेगमा कुनै पनि बैंक तथा वित्तीय संस्था नहुँदा सहकारी स्थापना गरी सदस्यहरुलाई सेवा दिन थालेको बताए ।

उनले भने केही वर्ष अगाडि नै एटिएम सेवा शुरु गर्ने योजना बनाएको भएपनि केहि समय ढिला हुन गयो, एक हजार कार्ड बनेर आइसकेको छ सवै सदस्यलाई कार्ड उपलब्ध गराउँछौं । अध्यक्ष पाठकले संस्थाले यस अघि नै मोबाइल बैंकिङ सञ्चालनमा ल्याई सदस्यहरुलाई युटिलिटी पेमेन्ट, ब्यालेन्स चेक तथा ब्यालेन्स ट्रान्सफर जस्ता सुविधा दिँदै आएको बताए । एटिएम सेवा सञ्चालनमा ल्याउन त्यति सहज नभएको र खर्चालु समेत रहेकाले त्यसलाई व्यवस्थापन गर्दै जानु थप चुनौति रहेको उनको भनाई छ । उनले भने ‘एटिएम सेवा शुरु गर्नु ठूलो होइन, तर यसलाई निरन्तरता दिने र सदस्यमाझ पु¥याउनु महत्वपूर्ण हो, सबै सदस्यलाई एटिएम सेवा लिन आग्रह गर्छु ।’

संस्थाले सोही अवसरमा सिटिजन्स लाईफ इन्स्योरेन्ससँग सदस्यहरुको ऋणको सुरक्षणका लागि बीमा सम्झौता समेत गरेको छ । त्यसैगरी संंस्थाको सम्पूर्ण कारोबार डिस्प्ले गर्नका लागि डिजिटल बोर्ड समेत जडान गरेको छ । एसिटि नेटवर्कसंगको सहकार्यमा संस्थाले एटिएम कार्डको सेवा दिएको हो । उक्त कार्ड एसिटि नेटवर्कसँग आवद्ध जुनसुकै संस्थाबाट स्वायप गरेर भुक्तानी गर्न सकिने र ई–कमर्श, वालेट जस्ता प्लेटफर्ममा कार्ड एड गरेर विभिन्न वस्तु खरिद तथा सेवा उपभोग गर्न सकिने जनाइएको छ ।



Leave a comment