स्याङ्जा । राष्ट्रिय सहकारी बैंकले ६८ औं शाखा स्याङ्जाको पुतलीबजारमा उद्धघाटन गरेको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको संयुक्त रुपमा उद्धघाटन गरेका हन् ।
कार्यक्रममा नगर प्रमुख क्षेत्रीले समृद्ध नेपाल निर्माणका लागि सहकारी अभियानको योगदान बढाउनु पर्नेमा जोड दिइन । उनले सहकारीमा रहेको पूँजिलाई उत्पादन क्षेत्रमा लगाउनका लागि राष्ट्रिय सहकारी बैंकले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताइन् ।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको अवधारणा अनुसार सहकारीहरुले काम गर्ने हो भने गरिवीनिवारणका लागि सहकारीको भूमिका सबैभन्दा प्रभावकारी हुने बताए । सहकारीका नाममा गलत गर्नेहरुलाई समयमै पाखा लगाउनका लागि अभियानका असल अभियन्ताहरुको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो ।
सहकारी क्षेत्र ७३ लाखजनता आवद्ध भएको प्रभावकारी क्षेत्र भएकाले यसलाई उत्पादनमा लगाउनका लागि सहकार्यमा जोड दिए । जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मपति पौडेल, बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले सहकारीहरुको बैंक सहकारी बैंकको शाखा पुतलीबजारमा शुरु भएकाले सबै सहकारी संघ संस्थाहरुलाई सहकारी बैंकमा कारोबार गर्न आव्हान गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको विगत, वर्तमान र आगामी योजनाकाबारे जानकारी गराए । बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्याङ्जाका पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका, विरुवा गाउँपालिका, हरिनास गाउँपालिकालाई केन्द्रीत गरी शाखा सञ्चालन गरिएको र शाखामा उद्घाटनको दिनसम्म २० करोड वचत संकलन भएको शाखा प्रमुख पुष्पा क्षेत्रीले जानकारी दिए ।
Leave a comment