इलाम । इलामको हिमाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै लगानीमा सुपथमूल्य सहकारी पसल सञ्चालन गरेको छ । आफ्ना सदस्यहरुलाई खाद्यन्नमा सुनिश्चितताको अनुभूति गराउन संस्थाले सुपथमूल्य पसल सञ्चालन गरेको जनाएको छ ।
हिमाल साकोसका व्यवस्थापक लिलाप्रसाद थापाले दैनिक उपभोग्य सामान सुपथ मूल्यमा सदस्यलाई उपलब्ध गराउने उद्देश्यले सहकारी सुपथ पसल सञ्चालन गरिएको बताए । संस्थाले मल, बिउ लगायत कृषि सामाग्री सदस्यलाई उपलब्ध गराउँछ ।
सुपथ पसलमा स्थानीय उत्पादनका साथै अन्य देशका उत्पादनसमेत पाइन्छ । पसल व्यवस्थित गरी आकार बढाउने योजना रहेको थापाले सुनाए । ‘सुपथ पसल व्यवस्थित गर्ने योजनामा छौं’उनले,‘ सफ्टवेयरबाटै हिसाब राख्नेगरी गृहकार्य गर्दैछौं ।’ इलाममा अलैची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन(दूध), अम्रिसो, आलुमा प्रख्यात छ । पसलमा यस्तै इलामको स्थानीय उत्पादनका साथै अन्य जिल्लाका सहकारी र सदस्यको उत्पादन पसलमा रहेको व्यवस्थापक थापाले बताए ।
संस्थाले कृषि तथा उद्यमशीलतामा कर्जा प्रवाहमा प्राथमिकता दिई स्वरोजगार बनाउन ध्यान दिइएको व्यवस्थापक थापाले बताए । सदस्यले ऋण लिएर बाख्रापालन समेत गरेका छन् । संस्थाले तालिम पनि दिन्छ । साविकका जुनतारा बचत तथा ऋण सहकारी र प्रकृति कृषि सहकारीबीच मर्ज भएर हिमाल साकोस स्थापना भएको हो । संस्थाले २ सय ६६ जनालाई सहकारी शिक्षा तालिम, ३५ जनालाई बाख्रापालन तालिम र ७७ जनालाई तरकारी खेती तालिम दिइएको व्यवस्थापक थापाले बताए ।
संस्थाले राष्ट्रिय सहकारी बैंकबाट ३ करोड १५ लाख ७२ हजार ६ सय ८९ रुपैयाँ कर्जा लिएको छ । संस्थाको चालू पुँजी १४ करोड २० लाख १४ हजार एक सय रुपैयाँ छ । संस्थाले वार्षिक २८ करोड १९ लाख २२ हजार ७ सय ६१ रुपैयाँको कारोबार गर्छ । संस्थाका १ हजार ९ सय ७२ जना सदस्य छन् । त्यसमध्ये १ हजार २ सय ९ जनाले ऋण लिएका छन् ।
Leave a comment