झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सवको अबसरमा संस्थापकहरुलाई सम्मान गरेको छ । संस्था २५ औंँ वर्ष पुगेको अवसरमा संस्थापक ३३ जना शेयर सदस्यलाई सम्मान गरेको हो । संस्थाले कनकाई नगरपालिका स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव मनाएको हो ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले प्रदेश–१ का ६ जिल्लामा ६७ वटा सेवाकेन्द्र रहेको छ । यस वर्ष थप ८ वटा सेवाकेन्द्र विस्तार गर्ने लक्ष्य राखेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । संस्थाले सदस्यलाई कोरोना अवधिमा व्यापार, व्यवसाय र उद्यमशिलताको लागि पँजूीको उपलब्धतालाई सहज बनाउने लक्ष्य राखेको छ । रजत महोत्सवसँगै सहकारीले सदस्य वृद्धि र सम्बन्ध सुदृढिकरण अभियानसमेत सञ्चालनमा ल्याउने प्रमुख गिरीले जानकारी दिए । १ लाख ४८ हजार शेयर सदस्य रहेको सहाराले यस वर्ष २ लाख पुर्याउने जनाइएको छ । संस्थाले ‘सहारा स्मार्ट मोवाइल एप’ सबै सदस्यको पहुँचमा पुर्याउने र एटीएम सेवा शुरु गर्ने जनाएको छ ।
संस्थाले यस वर्षदेखि सिनियर सिटिजन हेल्थ केयर सेवा, अग्र्यानिक तथा टनेल भिलेज निर्माण, कोसेली घर सञ्चालन स्थानीय तहसँगको साझेदारीमा सहुलियत कर्जाका लागि उद्यमशिलता कोष, कृषि तथा पशु कार्यक्रम, जेष्ठ चौतारी निर्माण लगायतका कार्यक्रम अघि बढाउने जनाइएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा भएको रजत महोत्सवको अवसरमा सहाराले जोखिम हस्तान्तरण व्यवस्थापनका लागि सिटिजन लाइफ इन्सुरेन्ससँग सम्झौता गरेको जनाएको छ । संस्थाले सेवा केन्द्रहरुलाई प्रभावकारी परिचालन, सुविधाका लागि कुपन प्रणाली लागू, सहुलियत व्याजदरमा वैदेशिक ऋणका लागि स्मार्ट सर्टिफिकेट र एक्सेस ब्राण्ड प्राप्तको प्रक्रिया अघि बढाउने जनाएको छ । सेवा केन्द्रहरुलाई योगदानको आधारमा कार्यक्रम अनुदान उपलब्ध गराउने योजना बनाएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
Leave a comment