विशिष्टिकृत सहकारी संघको नेतृत्व लिनुस् : ढकाल

विशिष्टिकृत सहकारी संघको नेतृत्व लिनुस् : ढकाल :: Sahakari Akhabar

झापा । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जिल्लाको सतासी बहुमुखी सहकारी संस्थालाई सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्ने प्रयोजनका लागि विशिष्टिकृत सहकारी संघको गठन गर्न र नेतृत्व लिन आग्रह गरेका छन् ।

संस्थाको १७औं वार्षिक साधारणसभाको उद्घघाटन कार्यक्रमा सम्बोधन गर्दै ढकालले सतासी सहकारीसँग सहकारी पसल संचालनको अनुभव रहेकाले विशिष्टिकृत संस्थाको व्यवसायिक नेतृत्व लिन आग्रह गरे । ढकालले सतासी सहकारी वित्तीय रुपले आत्मनिर्भर एवं व्यवसायिक रुपले सक्षम र सबल भएकाले आफ्ना सदस्यहरुले उचित प्रतिफल पाउन सकेको बताए ।

साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले चार हजार ८९० जना शेयर सदस्यहरुबाट चार करोड ८० लाख ८९ हजार ७०० रुपैयाँ शेयर पूँजी यसैगरी ४१ करोड १० लाख रुपैयाँ निक्षेप रहेको बताए । ३८ करोड ४० लाख ७२ हजार कर्जा लगानी छ भने जगेडा कोषमा तीन करोड ७० लाख २५ हजार पुर्याएको बताए । संस्थाले एक करोड १६ लाख १० हजार रुपैयाँ मुनाफा गरेको र सदस्यहरुलाई १९ लाख ५ हजार ७९८ संरक्षित पूँजी फिर्ताकोषमार्फत वितरण गरेको बताए ।

संस्थाले हल्दिबारीमा सुपथमूल्य पसल सञ्चालनमा ल्याएको कार्यक्रममा जानकारी दिइएको छ । संस्थाले चाँडै सुरुङ्गा, गरामनी, मेचीनगर र अर्जुनधारामा पसल सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ । संस्थाले बन्दाबन्दीमा पाँचवटा पालिकाको राहत कोषमा ५० हजार रुपैयाँको दरले दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए ।



Leave a comment