काठमाडौं । सहकाली बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभाले राधेश्याम खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, सचिवमा तारणीराज दाहाल, कोषाध्यक्षमा सुजन कार्की र सञ्चालकमा कमल बोहोरा निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा कुमार प्रसाद चालिसे तथा सदस्यहरुमा नीलकण्ठ सत्याल र राजन बहादुर बस्नेत निर्वाचित भएको संस्थाले जनाएको छ ।
संस्थाले गत पौष १९ देखि सदस्यहरुका लागि प्रतिबेदन बुझ्ने, साधारण सभामा उपस्थिति जनाउने र सल्लाहसुझाव दिन खुल्ला गरेको थियो । कोभिड १९ को जोखिमलाई मध्यनजर गरी संस्थाले एक साता लगाएर सभा सम्पन्न गरेको हो । सभामा उपाध्यक्ष मुकुन्दप्रसाद अधिकारीले स्वागत मन्तब्य राख्दै श्रम, पूँजी र सीपलाई अधिकतम उपयोग गरी राज्यले अंगीकार गरेको ३ खम्बे अर्थनीतिलाई पछ्याउँदै, सदस्यका आवश्यकता र आकांक्षालाई परिपूर्ति गर्दै समृद्ध समाज निर्माणमा संस्था लागि परेको जनाए ।
त्यसैगरी संस्थाका अध्यक्ष राधेश्याम खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न र गरिबी न्यूनिकरणका लागि सहकारीको माध्यमबाट छरिएर रहेको ससानो पूँजीलाई एकिकृत गरी समुदायलाई सबल बनाउन संस्था क्रियाशील रहेको बताए ।
सदस्यहरुको लगानीमा उच्चतम प्रतिफल गर्न संस्थाको दायित्व भएपनि कोभिड–१९ का कारणले गर्दा विश्व अर्थतन्त्रमा नै संकुचन आएकाले त्यसको प्रभाव संस्थामा समेत परेको उनले जनाए । सरकारले गरेको बन्दाबन्दीका कारण संस्थाले प्रक्षेपित गरेको प्रगति हासिल गर्न कठिनाइ भएको उनले जनाए । चालु आवको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष खड्काले सदस्यकेन्द्रित कारोबारलाई बढाउने, सामुदायिक कोषको सदुपयोग गरी विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने, सञ्चालक समिति एवं विभिन्न उपसमिति र सदस्यहरुलाई लक्षित गरी सहकारी शिक्षा, सेमिनार, गोष्ठी, तालिम कार्यक्रम सञ्चालन गर्ने, कृषि र पर्यटनको क्षेत्रमा लगानी वृद्धि गर्ने, सदस्यहरुमा उद्यमशील विकास गर्ने एवं कार्यक्षेत्र विस्तार र सेवा केन्द्र थप गरी नवीनतम सेवा दिने जनाए ।
संस्थाले आव २०७६।०७७ को अन्त्यसम्म १० करोड ३१ लाख शेयरपूँजी, १५ करोड ९७ लाख ७३ हजार जगेडा तथा अन्य कोषहरु, ९ करोड ५ लाख स्थिर सम्पत्ति, १ करोड ३१ लाख १६ हजार संस्थागत लगानी, १ अर्ब २६ करोड ४१ लाख बचत संकलन र १ अर्ब १८ करोड ७१ लाख ऋण लगानी गरेको छ । संस्थाको असार मसान्तसम्म १ अर्ब ७१ करोड ९१ लाख कुल सम्पत्ति पुगेको छ । संस्थामा ३२७७ जना शेयर सदस्य रहेका छन् । संस्थाले सो अवधिमा ४ करोड ७ लाख १४ हजार खुद नाफा आर्जन गरेको छ भने १ करोड १५ लाख १९ हजार राज्यलाई आयकर वापत भुक्तानी गरेको छ ।
Leave a comment