झापा । बिर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कोरोना बीमा वापतको एक लाख रुपैयाँ भुक्तान गरेको छ । संस्थाले संस्थापक शेयर सदस्य दिलेन्द्रकुमार कार्कीलाई कोरोना बीमा वापतको रकम हस्तान्तरण गरेको छ ।
हामो नेपाल साकोसले करिब दुई हजार ५ सय सदस्यको कोरोना बीमा गरिदिएको थियो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, उपाध्यक्ष पृथ्वी ओली, लेखा समिति संयोजक कृष्णराज कटुवालले कोरोना बीमा वापतको एक लाख रुपैयाँको चेक कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
संस्थाका अध्यक्ष दंगालले बीमा वापतको चेक हस्तान्तरण गर्दै संस्थाले आफ्नै पहलमा नियमित कारोबारी सदस्यहरुको कोरोना बीमाको प्रिमियम तिरिदिएको बताए । उनले संक्रमितहरुका लागि प्राप्त बीमा दाबी आजबाट भुक्तानी हुन थालेको बताए । कोरोना संक्रमित अन्य सदस्यहरुको समेत बीमा दावी भुक्तानी भएपछि घरमै लगेर हस्तान्तरण गरिने दंगालले बताए ।
बीमा वापत प्राप्त रकमको चेक ग्रहण गर्दै संस्थाका सदस्य कार्कीले आफ्ना सदस्यहरुलाई दुःख परेको बेला संस्थाले दिएको मायाप्रति सराहना व्यक्त गरे । कोरोना बीमा वापत प्राप्त रकमले उपचारमा लागेको खर्च भरपाई गर्न तथा पोषिलो खानेकुरामा खर्च गर्ने बताए ।
Leave a comment