काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको दशौं साधारणसभा सम्पन्न भएको छ । संस्थाले क्षेत्रगत रुपमा पौष ३ गतेदेखि सभाको शुरुवात गरी पौष १० गते औपचारिक रुपमा सभा समापन गरेको हो । संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा कर्मचारीलाई सम्मान गरेको छ ।
संस्थाले सदस्यहरुलाई प्रतिवेदन वितरण, छलफल तथा सुझाव संकलन गर्दै सभा सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सभा समापन भएको हो । सो अवसरमा संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेले कोभिड १९ बाट बच्न सरकारले गरेको बन्दाबन्दीका कारण आम मानिस आर्थिक, मानसिक तथा भौतिक रुपमा विक्षिप्त भइरहेको अवस्थाबाट बाहिर उठ्न नसकिरहेको विषम परिस्थितिका बावजुद पनि सदस्यहरुको आर्थिक विकासको बाटो तय गर्नुपर्छ भन्ने दृढ संकल्पका साथ आफूहरु अघि बढेको बताए । देश विकासको प्रमुख आधार भनेकै गरिबी न्यूनिकरण र आर्थिक सबलीकरण भएकाले सहकारीको माध्यमबाट वित्तीय श्रोतसाधनको परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए । संस्था सदस्यहरुको हितलाई मध्यनजर गरी स्तरीय र आधुनिक सुविधा सहितको सेवा दिन कटिवद्ध भएको र संस्थाले मोबाइल एम, मोबाइल बैंकिङ र एटिएम सेवा समेत सञ्चालनमा ल्याएको उनले जनाए ।
कोभिड महामारीबाट बच्न सरकारले गरेको बन्दाबन्दीको मारमा परेका समुदाय, असहाय, दृष्टिविहीन लगायत संस्थाका न्यून आय भएका सदस्यहरुलाई खाद्यान्न जस्ता सहयोग दिन सकेको उनले बताए ।
संस्थाका सचिव महाशंकर रेग्मीले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि संस्थाले निरन्तर काम गर्दै आएको उनले जनाए । यस वर्षदेखि संस्थामा कर्जा लगानी, बचत परिचालन, शेयर सदस्य निर्माण, संस्थागत मुनाफा जस्ता कार्य गर्दा गुणस्तरलाई प्राथमिकतामा राखी संस्थागत सुशासन कायम गरेर अघि बढ्ने उनले जनाए । संस्था बहुउद्देश्यीय भएकाले सदस्यहरुको सहभागितामा परियोजनात्मक काम गर्ने उनले जनाए ।
बन्दाबन्दीका बेलामा सम्पर्क व्यक्तिमार्फत सदस्यहरुलाई सेवा दिएको, ब्याजमा दश प्रतिशत र हर्जानामा संस्थाले शत्प्रतिशत छुट दिएको बताए । संस्थाले यस आर्थिक वर्षमा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजाने, डिजिटल कारोबारका लागि सदस्यलाई प्रोत्साहन गर्दै लैजाने, न्यून र मध्ययम आय भएका सदस्यहरुलाई उद्यमशील बनाउन सीपमूलक तालिम सञ्चालन गर्ने, मेगा मार्ट सञ्चालन गर्ने, उत्कृष्ट नतीजा हासिल गर्ने शेयरसदस्यका छोराछोरीलाई दीर्घकालिन छात्रवृत्ति प्रदान गर्ने, चन्द्रागिरी न।पा। मा सदस्य सेवा केन्द्र विस्तार गर्ने लगायतका योजना रहेको उनले बताए ।
संस्थाले आ.व.०७५÷०७६ को अन्त्यसम्म ९६६७ शेयर सदस्य, १३ करोड ४२ लाख शेयरपूँजी, ९७ करोड २७ लाख बचत संकलन र १ अर्ब ३८ करोड ६५ लाख कर्जा परिचालन गरेको छ । त्यसैगरी संस्थाको जगेडा तथा अन्य कोषमा ३ करोड ६९ लाख, कर्जा जोखिम कोषमा ५ करोड ३९ लाख र स्थिर सम्पत्ति १ करोड ११ लाख रहेको छ । संस्थाले सो अवधिमा १ करोड ४४ लाख ४४ हजार मुनाफा आर्जन गरेको छ भने १ अर्ब ५८ करोड ३८ लाख कुल कारोबार गर्न सफल भएको छ ।
Leave a comment