झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कृषि क्षेत्रको विकाससँगै कृषकलाई स्वरोजगार बनायने अभियानमा लागेको छ । संस्थाले बाहुनडाँगीदेखि उदयपुरसम्म र पाँचथरदेखि उदयपुरको चुरे क्षेत्रका कृषकलाई बाख्रा पालनका लागि प्रोत्साहन गर्ने भएको छ । संस्थाले दीगो आय–आर्जनका लागि कृषि मुल्य श्रृंखला अन्तर्गत चुरे क्षेत्रका पाँच हजार जनालाई प्राविधिक सिप, ऋण समेत दिने योजना अघि सारेको संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।
विगत तीन वर्षदेखि चुरे क्षेत्रमा यस खाले कार्यक्रम सञ्चालन गर्दै आएपनि अब कृषकलाई आय–आर्जनको पाटोमा जोडेर लान सहकारीले थप रणनीति लिएको कार्यकारी निर्देशक गिरीको भनाइ छ । यसअघि सञ्चालनमा ल्याइएको यो कार्यक्रम प्रभावकारी भएको भन्दै यस खाले कार्यक्रमले कृषकहरु प्रत्यक्ष लाभान्वित भएकाले कार्यलाई निरन्तरता दिँदै अघि बढ्ने गिरीको भनाई छ । सहकारीले टनेल भिलेज कार्यक्रम सञ्चालन गरिरहेको र अब सहकारीका सदस्य तरकारी लिन बजारतर्फ होइन करेसावारी र कौशीतिर जाने छन् गिरीले भने– सहकारीले सञ्चालन गरेको यो कार्यक्रमले सबै सदस्यलाई राहत पुग्ने छ । अहिले यो कार्यक्रमका लागि पाँच सय टनेल खेती गरिनेछ ।
सहकारीले शिवसताक्षी नगरपालिका–८स्थित दोमुखाको जमिनलाई कृषि पर्यटनका रुपमा विकास गरेर लगेको गिरीको भनाइ छ । सो क्षेत्रमा दुई विगाह ८ कठ्ठा जमिनमा मह उद्योग, बाख्राको स्रोत केन्द्र र तरकारीको टनेल निर्माण गर्ने सहकारीले लक्ष्य लिएको बताइएको छ । सहकारीका सदस्यहरुले उत्पादन गरेका वस्तुको बिक्रीका लागि बजारीकरण गर्न समेत पहल थालिएको गिरीको भनाइ छ । शनिवार सहारा नेपाल सकारी संस्थाको २४औं वार्षिक साधारणसभाको उद्घघाटन गर्दै १ नम्वर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमार रानाले सहकारी क्षेत्रले अब वजारीकरणको नेतृत्व लिनुपर्ने बताएका छन् । विचौलियाका कारण उपभोक्ताले उत्पादन गरेका सामान उपभोक्तासम्म पुग्दा महंगो मूल्य पर्ने र उत्पादन गरिएका कृषि सामग्रीसँगै बिक्री बितरणमा समस्या भएको भन्दै राज्यमन्त्री रानाले उपभोक्ता र कृषकलाई जोड्ने काम गर्न सहकारीले बजारीकरणको नेतृत्व लिनुपर्ने बताए ।
Leave a comment