काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषिको परिवर्तन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार्षिक साधारणसभा अन्तरगत मंगलवार भर्चुअल माध्यमबाट आयोजित प्रदेश नं. १ को एकाई सभामा बोल्दै मन्त्रि राईले यस्तो बताएका हुन् ।
कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उनले सहकारी क्षेत्रले कृषि क्षेत्रको विकासमा ध्यान दिनु पर्नेमा जोड दिए । प्रदेश नं. १ को विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको उनले बताए । उनले भने सहकारी बैंकसंग सहकार्य गरेर काम गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा बैंकका सल्लाहकार दिपकप्रकाश बाँस्कोटाले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित गराउदै समग्र सहकारी क्षेत्रको साख बढाउनु पर्नेमा जोड दिनुपर्ने बताए । उनले समानान्तर सहकारी बैंकको चर्चा बजारमा चलेको आफुले सुनेको भन्दै उनले समानान्तर सहकारी बैंकको औचित्य नहरेको बताए ।
सहकारी क्षेत्रलाई मुलुक रुपान्तरणको महत्वपूर्ण अंगका रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकलाई नै थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । सहकारी क्षेत्र विभाजित भएर होइन, एकीकृत भएर यो क्षेत्रलाई आम समुदायको भरोसाको केन्द्र बनाउनु पर्छ, बाँस्कोटाले भने । सहकारी बैंकलाई मुख्य बैंक बनाएर उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा ध्यान दिनु पर्दछ, उनले भने, कृषि, कृषक र वातावरण जोगाउने गरी सहकारी बैंकका कामलाई केन्द्रीत गर्नु पर्दछ ।
बास्कोटाले सहकारी बैंकलाई शाखा होइन, सदस्यमार्फत देशव्यापी रुपमा अगाडि बढाउने गरी वर्तमान सहकारी ऐनलाई संशोधन गर्नु पर्ने सुझाव दिएका छन् । कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक लक्ष्मी प्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
Leave a comment