काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सिन्धुलीका दुईवटा सहकारीलाई पुरस्कृत गरेको छ । सहकारी बैंक सिन्धुली शाखा कार्यालयमा आर्थिक वर्ष ०७५र०७६ मा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुने संस्थामा नियमित कारोबार गर्ने तर्फ मिलिजुली बचत तथा ऋण सहकारी संस्था र उत्कृष्ट कारोबार तर्फ समय बचत तथा ऋण सहकारी संस्था सम्मानित भएका हुन । दुवै संस्थालाई सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले तथा सहकारी बैंक सिन्धुली शाखा समन्वय उपसमितीका संयोजक बालकुमारी श्रेष्ठले सम्मानपत्र सहित पुरस्कृत गरेका छन् ।
सहकारी बैंकले हरेक वर्ष केन्द्रीयस्तर, प्रदेशस्तर र शाखास्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । बैंकको १६ औ वार्षिक साधारणसभाको अवसरमा केन्द्र तथा शाखास्तरीय संस्थाहरुलाई पुरस्कृत गरेको हो । यस वर्ष पुरस्कृत संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसी, बाग्मती प्रदेश सहकारी संघका संचालक कृष्णहरि कोइराला, बैंकको शाखा समन्वय उपसमितिका सदस्यहरु लगायत विभिन्न विषयगत तथा प्रारम्भिक संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको सहकारी बैंक सिन्धुली शाखाका प्रवन्धक श्रवण नेवा खड्गीले जानकारी दिए ।
Leave a comment