हाम्रो जनकल्याण साकोसको २३ औं साधारण सभा सम्पन्न 

हाम्रो जनकल्याण साकोसको २३ औं साधारण सभा सम्पन्न  :: Sahakari Akhabar

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै पहिलोपटक सामुदायिक रेडियोहरुमार्फत साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले जिल्लास्थित ४ ओटा सामुदायिक रेडियोहरुबाट प्रत्यक्ष प्रशारण गरेर संस्थाको २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । जिल्लाका रेडियो भीमेश्वर, कालिञ्चोक एफएम, रेडियो शैलुङ र हाम्रो रेडियोमार्फत सहकारीले साधारणसभाका विषय, नीति तथा कार्यक्रम र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।

८ हजार सेयर सदस्य तथा ३२ सय बढी बालबचतकर्ता रहेको संस्थाले सञ्चालक र ३ जना अतिथि उपस्थित गराएर सहकारीले साधारणसभा सम्पन्न गरेको हो । केन्द्रीय साधारणसभा मात्र आयोजना गर्दै आईरहेको सहकारीले कोरोना महामारीका कारण ६ वटा ईकाईगत सभा गर्ने हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।

संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६२ करोड ९३ लाख बराबरको वासलात रेडियोमार्फत कोषाध्यक्ष अर्जुन कार्कीले सार्वजनिक गरेका थिए । ५ करोड २१ लाख २१ हजार दुईसय सेयर पूँजी रहेको सहकारीको साधारणसभामा उपस्थित भीमेश्वर नगरपालिका मेयर भरतबहादुर केसीले सहकारीहरुले उत्पादनको क्षेत्रमा लगानी बढाउन आग्रह गरेका थिए । नीति, विधि र नेतृत्वको आधारमा सहकारीहरु सञ्चालन गरेर उत्पादन र पर्यटनको क्षेत्रमा लगानी बढाउँदा प्रतिफल कहिल्यै नगुम्ने मेयर केसीले बताए ।

सहकारीले गत आर्थिक बर्षमा मृत्यु भएका २१ सेयर सदस्यका आफन्तहरुलाई ३ लाख ८१ हजार हितकोषबाट भुक्तानी गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताए । संस्थामा सदस्य भई आमा वा बुबा मध्ये एक जना नभएका सेयर सदस्यका छोराछोरीमध्ये एकजनालाई दिने गरिएको असहाय सन्तती छात्रबृत्ति अन्तरगत गत आर्थिक बर्षमा ५ छात्र र ५ छात्रा गरी १० जनालाई प्रत्येकलाई बार्षिक दुईहजार पाँचसयको दरले २५ हजार छात्रबृत्ति वितरण गरिएको बस्नेतले बताए ।



Leave a comment