हाइलाइट

सहकारीमा कर सम्बन्धी गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया

सहकारीमा कर सम्बन्धी गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया :: Sahakari Akhabar

काठमाडौ । राष्ट्रिय सहकारी बैंकको आयोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशको प्राविधिक सहयोगमा सहकारीमा कर सम्बन्धी गण्डकी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ । सहकारीमा कर सम्बन्धी व्यवस्था र कर भुक्तानका प्राविधिक पक्षमा जानकारी दिई सहकारी संस्था सञ्चालनमा सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा बैंकले सहकारी व्यवस्थापन, लेखा तथा कर लगायतका विषयमा नियमित रुपमा सहजीकरण गर्दै आएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । उनले सहकारी व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित गराउनका लागि कार्यक्रम सहयोगी हुने बताए ।

कार्यक्रममा सहकारीका सम्बन्धमा विद्यमान करका व्यवस्थाहरु विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशका सचिव चन्द्रकला पौडेलले सहजीकरण गरेकी थिइन । सहजीकरण गर्दै सचिव पौडेलले कर प्रणालीका बारेमा जानकारी लिनका लागि कार्यक्रम सहयोगी हुने बताइन् । उनले कर प्रणालीलाई बुझेर काम गर्न सकियो भने जरिवाना र ब्याजको झण्झट नहुने बताइन् । उनले सहकारी व्यवसाय सञ्चालन गर्दा भुक्तान गर्नु पर्ने करका दायराहरु र छुट लगायतका विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार प्रेमप्रसाद ढकालले सहकारी बैंक र विभागबीच सहकार्य गरेर सहकारीकर्मीहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्न विभाग सदैव तयार रहेको बताए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तनहुँका कम्प्युटर अधिकृत रामप्रसाद पोखरेलले कर भुक्तान र दाखिला सम्बन्धमा सहजीकरण गरेका थिए । बैंकका सञ्चालक रामबहादुर जिसीले कार्यक्रमको सहजीकरण गरेका थिए भने कार्यक्रम दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले संचालन गरेका थिए ।



Leave a comment