ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल परिस्थितिका कारण सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर साधारणसभा सम्पन्न गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष किशोर महर्जनले आ.व. २०७६÷०७७ को प्रगति प्रतिवेदन र आ।व। २०७७÷०७८ को प्रस्तावित नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि वित्तीय तथा गैर वित्तीय सेवाहरु संस्थाले उपलब्ध गराउँदै आएको र कोभिड १९ बाट बच्न सरकारले गरेको लक डाउन र निषेधाज्ञाका बीचमा पनि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको उनले बताए ।
संस्थाको उद्देश्य सदस्यहरुको आय आर्जनमा वृद्धि गर्ने क्षमतामा सघाउने भएकाले सोही अनुरुप संस्थाले आयमूलक र व्यवसायिक क्षेत्रमा ऋण लगानी गरी उनीहरुको आर्थिक स्तरमा क्रमशः स्तरोन्नति गर्दै लैजाने ध्येय रहेको उनले जनाए ।
कृषि तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न बहुउद्दश्यीय परियोजनाको सम्भाव्यता समेत अध्ययन अगाडि बढाएको उनले जनाए । संस्थाले आफ्नै भवन निर्माणका लागि महालक्ष्मी न.पा. वडा.न.६ सिद्धिपुरमा ६ आना ३ पैसा जग्गा समेत खरिद गरिसकेको उनले बताए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाजा खलःलाई बाद्यबादन सामग्री, महिला सदस्यलाई सुत्केरी हुँदा खर्च, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, कोरोना रोकथाम तथा नियन्त्रणमा आर्थिक सहयोग एवं गोदावरी खोला संरक्षण कार्यक्रम साथै रक्तदान जस्ता गतिविधिमा संलग्ना जनाउँदै आएको उनले बताए । त्यसैगरी १२३७ जना सदस्यहरुको आईएमई जनरल इन्स्योरेन्समा एक लाख बराबरको दुर्घटना बीमा समेत गरिएको उनले जानकारी गराए ।
सदस्यहरुलाई सहकारी सम्बन्धी अभिमूखिकरण कार्यक्रम सञ्चालन गरी सहकारीको महत्व र आवश्यकताका बारेमा थप शिक्षित बनाउने उनले बताए । संस्थाले महिला सशक्तिकरण र उद्यमशीलताका लागि प्रदान गर्दै कर्जाको सीमालाई ३० हजारबाट बढाएर ४० हजार पु¥याएको र बिना धितो ३ महिनाका लागि उक्त कर्जा उपलब्ध गराउने सभामा उनले जानकारी दिए ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कविता महर्जनले आ.व. २०७६÷७७ को लेखा प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । त्यसैगरी संस्थाका कोषाध्यक्ष सुदन महर्जनले गत आ।व।को आर्थिक प्रतिवेदन भावी योजना तथा बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थाको शेयरपूँजी २ करोड १७ लाख ३४ हजार, बचत संकलन १५ करोड ५२ लाख र ऋण लगानी १६ करोड ११ लाख गरी कुल कारोबार २४ करोड ९ लाख पुगेको उनले बताए ।
संस्थामा असार मसान्तसम्म ११६१ सदस्य आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुलाई मोबाइल बैंकिङका साथै विभिन्न कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा जडिबुटी र आयुर्वेदिक सम्बन्धी कारोबार समेत गर्ने योजना संस्थाको छ ।
बहुउद्देश्यीय सहकारी संघ ललितपुरले उत्कृष्ट संस्थाको रुपमा गत आ।व।मा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट संस्था पुरस्कृत भइसकेको छ । गोदावरी नगरपालिकाको ठैवमा समेत सेवा केन्द्र शुरु गरेको संस्थाले सदस्यहरु विरामी भइ अस्पतालमा उपचार गराउँदा पर्न सक्ने आर्थिक भार कम गर्न ५ दिनको बेड चार्ज उपलब्ध गराउँदै आएको छ ।
Leave a comment