झापा । कमल गाउँपालिका वडानम्वर २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घघाटन कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले गरेकी थिइन् ।
उनले गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर कृषिलाई अगाडि बढाउनुपर्ने बताएकी छन् । गाउँपालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेकै कृषिले हो भन्दै उनले गाउँपालिकाले पनि एक सहकारी एक उत्पादनको नीति लिएकाले यसमा सहयोग पुर्याउन सहकारी संस्थाहरुलाई आग्रह गरिन् ।
संस्थाका अध्यक्ष पे्रम सापकोटाले व्यवसायकि क्षेत्रलाई अगाडि बढाउन बहुउद्देश्यीय कृषिफर्म, अन्तरसंस्था कृषि उद्योग केन्द्र, पाथीभरा एग्रो टुरिजम लगायत संस्थामा शेयर लगानी गरेर उत्पादनसँग जोडिएको जानकारी दिएका छन् ।
संस्थामा १० हजार १६४ जना शेयर सदस्य १२ करोड ४३ लाख ४१ हजार ७ सय रुपैयाँ शेयर पूँजी तथा २५ करोड ८९ लाख १३ हजार ६ सय १५ रुपैयाँ पूँजी रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत आर्थिक वर्षमा ४ करोड ४६ लाख ७२ हजार ६ सय ८४ रुयैयाँ खुद मुनाफा गरेकोे व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिइन् ।
Leave a comment