काठमाडौं । आभाष बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका कारण संस्थाले अभौतिक रुपमा सभा सम्पन्न गरेको हो ।
सभामा अध्यक्ष दिनेशराज कायस्थले कोभिड १९ को महामारीले अर्थतन्त्र अस्तव्यस्त भएको भएपनि सदस्यको साथ सहयोगले कारोबारमा वृद्धि भएको बताए । चालु आर्थिक वर्षमा खर्चमा वृद्धि हुने र आम्दानीमा संकुचन हुने आँकलन उनको छ । बैंकहरुले दिने ब्याजमा गिरावट आएको र सन्दर्भ ब्याजदरमा भएको परिमार्जनले संस्थाले ठूलो चुनौति सामना गर्नुपर्ने उनले भने ।
संस्थाका सचिव प्रकाश कायस्थले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सदस्य सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको र उक्त कार्यक्रममा २५३८ जना सहभागी भएको जानकारी दिए । सदस्यहरुलाई कुनै घातक रोग लागेमा २५ हजार, घातक रोग बाहेकका सामान्य शल्यक्रियामा १० हजार, सदस्यको कालगतिले मृत्यु भएमा १० हजार, १ लाख बराबरको दुर्घटना बीमा र औषधि उपचार गर्नु परेमा १ लाख सम्म सहुलियत दरमा संस्थाले ऋण लगानी गर्ने गरेको बताए ।
त्यसैगरी संस्थाले छोरी अभियान अन्तर्गत शिर मेमोरियल अस्पतालमा हरेक नयाँ वर्ष जन्मिने सदस्यको पहिलो छोरीलाई आर्थिक सहयोग गर्ने गरेको जानकारी दिए । संस्थाले चालु आवमा जिल्ला भर कारोबार विस्तारको लागि पहल गर्ने, १० वटा क्षेत्रमा समुहगत रुपमा सहकारी शिक्षा शिविर सञ्चालन गर्ने, २० वटा महिला समुह थप गर्ने, ७० वर्ष माथिका सदस्य सम्मान, सुत्केरी भेटघाट जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।
संस्थाका कोषाध्यक्ष विकास वैद्यले आ.व. २०७६र७७ को आर्थिक प्रतिवेदन पेश गर्दै शेयर पूँजी ३ करोड ६५ लाख, बचत ४५ करोड १९ लाख र ऋण लगानी ३९ करोड ४४ लाख रहेको बताए । संस्थाको जगेडा कोषमा १ करोड ३३ लाख, जोखिम व्यहोर्ने कोषमा १ करोड ४४ लाख रकम रहेको छ । संस्थाले गत आ.व.मा ५० लाख ११ हजार रुपैया खुद मुनाफा आर्जन गरेको छ । संस्थामा ४ हजार ३१२ सदस्य रहेका छन् ।
Leave a comment