बागलुङ । राष्ट्रिय सहकारी बैंकले पोखराका २ वटा सहकारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई शुक्रवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।
पोखरा शाखामा उत्कृष्ट कारोबार गर्ने रामबजार स्थित संगम बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने नयाबजारस्थित उन्नती बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको हो । संगम साकोसका अध्यक्ष निरज थापा र उन्नती साकोसका अध्यक्ष राजेश रानाभाटलाई बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्र सहित पुरस्कृत गरेका हुन् । सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ ।
बैंकको वार्षिक साधारणसभाका अवसरमा केन्द्रीय र प्रदेश स्तरीय पुरस्कार वितरण गर्नुका साथै शाखा स्तरको पुरस्कार घोषणा गरी राष्ट्रिय सहकारी दिवसका अवसरमा वितरण गरिदै आएको छ । कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, बैंकका सल्लाहकार तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीको स्वागत र शाखा प्रमुख सन्तोष घिमिरेको सञ्चालन गरेका थिए । सहकारी बैंकको पोखरा शाखामा ३ सय ३१ सदस्य संस्था, १६ करोड शेयर पूँजि, ३ अर्ब ३५ करोड निक्षेप र ७५ करोड कर्जा लगानी रहेको शाखा प्रमुख घिमिरेले जानकारी दिए ।
Leave a comment