काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले भर्चुअल रुपमा १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । सभामा शुभकामना मन्तब्य राख्दै अध्यक्ष पौडेलले सहकारी क्षेत्र अब डिजिटाइजेशन र सर्भिस्टाइजेशनमा जाने बेला आएको बताए ।
कोभिडको प्रभाव बढेसँगै मुलुक आर्थिक मन्दीमा जान सक्ने संकेत देखिएकाले सदस्यहरुको आर्थिक स्तरलाई माथि उठाउन सहकारीहरुले व्यवसायिक निरन्तरता योजना तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । कोभिडबाट अन्य क्षेत्र जस्तै सहकारी क्षेत्र पनि प्रभावित भएकाले सहकारीका ऐन नियम कार्यान्वयनको कुरामा सरकारलाई लचकता अपनाउन उनले आग्रह गरे ।
संस्थाका अध्यक्ष भोलानाथ पाठकले असहज परिस्थितिका कारण सदस्यहरुको भौतिक उपस्थिति बिनानै साधारण सभा गर्नु पर्दा खल्लो महशुस भएको बताए । सामान्य हेराइबाट नदेखिन अदृष्य भाइरसले संसारलाई नै चपेटामा पारेको र यसको प्रभावबाट कुनै क्षेत्र, वर्ग र समुदाय अछुतो नरहेको भन्दै यस्तो अवस्थामा पनि संस्थाले सदस्यहरुलाई निरन्तर सेवा दिन सकेको उनले उल्लेख गरे । महामारीका बीच पनि संस्थागत र सामाजिक कार्यक्रममा संस्था निरन्तर लागिरहेको र लकडाउनका कारण आर्थिक समस्यामा परेका सदस्यहरुलाई राहत उपलब्ध गराउनले देखि भोजन दानमा समेत संस्थाले सहभागिता जनाएको उनले जानकारी दिए ।
संस्थाले उद्यमशीलता विकासका लागि उद्यम विकास खाता शुरु गरेको र कृषि तथा महिला उद्यमी कर्जा सहुलियत दरमा लगानी गर्ने योजना अघि बढाएको अध्यक्ष पाठकले बताए । प्राकृतिक विपत्तिहरु आउँदा त्यसलाई व्यवस्थापन गर्न प्राकृतिक विपत्ति कोषको स्थापना गरेको र उक्त कोषमा हालसम्म ७ लाख ७ हजार ९१६ रुपैया जम्मा भएको जानकारी दिए ।
संस्थाले स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको र निकट भविष्यमै एससिटि नेटवर्कमार्फत एटिएम सेवा शुरु गर्ने योजना भएको जनाए । संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७६।७७ को आर्थिक विवरण पेश गर्दे शेयर पूँजी ६ करोड ३२ लाग २८ हजार, बचत संकलन ४१ करोड ६६ लाख ८७ हजार र ऋण लगानी ४६ करोड १ लाख २४ हजार पुगेको जानकारी गराए । संस्थाले आव २०७६।७७ मा २ करोड ६२ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको छ । मुनाफा अघिल्लो आर्थिक वर्षको भन्दा ६९ लाख ६ हजारले बढि रहेको छ । संस्थाको कुल कारोबार ५९ करोड ८ लाख ७० हजार पुगेको छ ।
पूँजी फिर्ता कोषलाई योगदानको आधारमा ऋण लगानीमा ६० प्रतिशत र बचत योगदानमा ४० प्रतिशत हुने गरी बाँडफाँड गर्नुपर्ने कानुनी व्यवस्था भएपनि संस्थाले पूँजी फिर्ता कोष कार्यविधि तयार गरिनसकेकाले शेयर अनुपातका आधारमा सक्रिय सदस्यहरुका लागि दामासाही रुपमा बाँडफाँड गर्ने भएको छ । सभामा कर्मचारी ट्रेड यूनियनका अध्यक्ष भोला पोखरेल र संस्थाका कानुनी सल्लाहकार छविरमण निरौलाले शुभकामना मन्तब्य राखेका थिए भने सञ्चालक समिति सदस्य हरिवंश कडरियाले सभा सञ्चालन गरेका थिए ।
Leave a comment