काठमाडौं । अबको २५ वर्षमा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा सहकारीको योगदान पाँच गुणा बढाउने लक्ष्य लिएको छ । वर्तमान अवस्थामा ३ प्रतिशत योगदान रहेको यो क्षेत्रको आगामी २५ वर्षमा पाँच गुणा बृद्धि गरेर १५ प्रतिशत पुर्याउने लक्ष्य लिएको हो ।
राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको सहकारीको २५ वर्षे रणनीतिक योजनामा यस्तो लक्ष्य लिएको छ । बोर्डले (२०७७ ०७८ देखि २१०२ /०३ रणनीतिक योजनाको मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ । रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका निम्ती रणनीतिक दस्तावेज निर्माण गरेको बताइन् ।
अन्तराष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ती स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताइन् । संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको भन्दै उनले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गरिन् । सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको बताइन् । उनले भनिन् ‘हामीसँग सहकारीका संख्याहरु धेरै छन् । सहकारी आर्थिक रुपमा सबल छ ।
सहकारीमा भएका पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ । व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई रणनीतिले महत्वका साथ उठाइएको छ, ।’ संख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै सुशासलाई विशेषरुपमा जोड दिइएको उनले बताईन । सहकारी सम्बन्धी निर्माण गरिएका कानुन कार्यान्वयमा विशेष जोड दिइएको समेत मन्त्री अर्यालले बताइन । तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडी बढ्नुपर्ने भन्दै रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने बताइन् ।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीति २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडी बढाउने भन्ने भिजनरी दस्तावेज भएको बताए । रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडी बढाउने बताए । राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडी बढाउने भन्ने योजनासहित २५ वर्षे रणनीति तयार गरेको बताए । सहकारी क्षेत्रलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाउदै लैजाने भन्दै समग्र सहकारी क्षेत्रको विकासका निम्ती रणनीति तयार गरिएको बताए ।
Leave a comment