काठमाडौं । सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत वितरण गर्ने व्यवस्था मिलाउन सहकारीकर्मीहरुले माग गरेका छन् । राष्ट्रिय सहकारी बैंकले सोमाबर आयोजना गरेको बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा : सभावना र चुनौती विषयक एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सरकारले जेष्ठ नागरिक लगायतलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता लगायत सहकारीमार्फत वितरण गर्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।
प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुको सहभागिता रहेको अन्तरक्रियाका सहभागीहरुले सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत परिचालन गर्दा लक्षित वर्गमा पुर्याउन सहज हुने बताएका हुन् । संविधानले सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र सहितको तीन खम्बे अर्थनीतिमार्फत समृद्ध मुलुक निर्माणको परिकल्पना गरेको छ, तर व्यवहारमा सहकारी क्षेत्रलाई काम गर्ने अवसर प्राप्त भएको छैन भन्दै सहभागीहरुले सहकारी अभियानले सरकारसंग पहल गरेर सहकारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउनु पर्ने बताए ।
सहकारीमार्फत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्न विभिन्न कानुनहरुका कारण समस्या भएको भन्दै सहकारीकर्मीहरुले सहकारी ऐन अनुसार व्यवसाय गर्न सहज हुने गरी कानुन परिमार्जनका लागि पहल गर्न सहकारी अभियानको शिर्ष नेतृत्वले ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुुरपश्चिम प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको सहभागिता रहेको थियो ।
Leave a comment