पोखरा । स्याङ्जा जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण ज्यान गुमाएकाका परिवार तथा घाइतेहहरुलाई नेपाल सरकार र सहकारी अभियानको तर्फबाट १८ लाख ५ हजार रुपैया राहत रकम हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका पहिरो पीडितलाई १८ लाख ५ हजार रुपैया सहयोग हस्तान्तरण गरेकी हुन् ।
मन्त्री अर्यालको संयोजनमा नेपाल सरकार, प्रदेश सरकार तथा राष्ट्रिय सहकारी बैंक र काठमाडौं जिल्ला सहकारी संघ समेतको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको मन्त्रीका स्वकीय सचिव बुद्ध घर्तिले जानकारी दिए । सरकारको तर्फबाट १२ लाख ५ हजार तथा काठमाडौं जिल्ला सहकारी संघको संयोजनमा काठमाडौंमा विभिन्न सहकारी संस्थाहरु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट ६ लाख रुपैया गरी जम्मा १८ लाख ५ हजार रुपैया स्याङ्जाका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएकाहरुलाई हस्तान्तरण गरिएको हो । जिल्ला सहकारी संघ स्याङ्जाको अनुरोधमा जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौंका विभिन्न सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकमार्फत पहिरो पीडितलाई ६ लाख राहत सहयोग गरिएको हो ।
मन्त्री अर्याल पीडित परिवारको घरमा पुगेर राहत हस्तान्तरण गरेकी थिइन भने मन्त्री अर्याल संग प्रदेश सभा सदस्य राम बहादुर गुरुङ, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दास, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर के.सी., कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, बैंकका सञ्चालक तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङ, उपाध्यक्ष खेमराज सुवेदी, जिल्ला सहकारी संघ स्याङ्जाका कोषाध्यक्ष शिव वाग्ले, राष्ट्रिय सहकारी बैंक वालिङ शाखाका प्रमुख सुवास आचार्य लगायत सहभागिता रहेको थियो ।
Leave a comment