सहकारी बैंकका पूर्व संचालकहरुसंग छलफल

सहकारी बैंकका पूर्व संचालकहरुसंग छलफल :: Sahakari Akhabar

असोज १२, ललितपुर । राष्ट्रिय सहकारी बैंकले समिक्षा एवं भावि कार्यदिशा संभावना र चुनौती विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका पूर्व, निवर्तमान र वर्तमान सञ्चालक तथा लेखा समितिका सदस्य, व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा छलफल भएको थियो । बैंकका अध्यक्ष केबी उप्रेतीले संस्थापक लगायत पूर्व सञ्चालकहरुको सल्लाह, सुझाव र सहभागितामा सहकारी बैंकलाई मुलुकको आर्थिक रुपान्तरणका महत्वपूर्ण साझेदार संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहकारी बैंकका संस्थापक तदर्थ समितिका संयोजक दीपकप्रकाश बास्कोटाले  सहकारी जति सफल भयो समाजवाद त्यति दिगो हुने, संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राज्य बनाउने भनेर मात्रै हुदैन, त्यसको विकासका लागि सहकारी क्षेत्रको प्रवद्र्धन अपरिहार्य रहेको बताए । कार्यक्रममा बैंकका पूर्व लेखा समितिका संयोजक कुलचन्द्र अधिकारी, पूर्व सञ्चालकहरु विजयराज घिमिरे, भागवत श्रेष्ठ, गोविन्द बहादुर मल्ल, मुक्तिनाथ पाण्डे, डिल्ली तिवारी, डा. विदुर चालिसे, मुकुन्द दाहाल, राम शरण शर्मा घिमिरे, पूर्व लेखा समितिका सदस्य सागर नेपाल, कुमार खत्री लगायतले सहकारी क्षेत्रको योगदान बढाउन सहकारी बैंकको भूमिका महत्वपूर्ण हुने बताए ।

सहकारीकर्मीहरुको सहभागिता र सक्रियतामा सहकारी बैंक स्थापित भएको भन्दै राज्यको ध्यानाकर्षण गर्नका लागि थप योजना बनाएर सबैलाई सहभागी गराई अगाडि बढ्न सुझाव दिएका  थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको पछिल्लो अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएक थिए । उनले देशभरका सहकारीलाई दीगो रुपमा सञ्चालनमा सहयोग गर्न बैंक सक्षम भएको बताए ।



Leave a comment