बागलुङ, असोज १० । आदर्श सञ्चार सहकारी संस्थाले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ एक दिने वाककला तालिम शनिवार सम्पन्न गरेको छ ।
व्यावसायिकताका लागि वाककला तालिम भन्ने नाराका साथ आयोजित तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना अनुसारको लक्ष्य प्राप्तिका लागि सक्षम सञ्चालक र दक्ष कर्मचारी आवश्यक रहेको बताए ।
उनले हरेक संस्थाका कर्मचारीले आफूलाई सक्षम र क्षमतावान् बनाउनु पर्ने भन्दै शेयर सदस्य लगायत सेवाग्राहीसँग बोल्ने बोलीचाली र व्यवहार पनि परिवर्तन गर्न पर्ने बताए । प्रशिक्षक नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सस्था र जीवनको सफलताका लागि प्रभावकारी वाककला अपरिहार्य भएको बताए ।
वाककला सबै नागरिकलाई आवश्यक हुने भन्दै अध्यक्ष शिरीषले बोलीले मानिसको भोली र भविष्य निर्धारण गर्ने बताए । सहकारी लगायत सबै व्यवसायलाई सफल पार्नका लागि बोल्ने कलाले सफलतामा सहयोग पुग्ने शिरिषको भनाइ थियो । ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर महतले सहकारी अभियानलाई थप प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउनका लागि तालिम सहयोगी हुने धारणा राखे ।
Leave a comment