कोरोना कहरकैबीच पनि सहकारी बैंकको सेवामा कमी हुन नदिने 

कोरोना कहरकैबीच पनि सहकारी बैंकको सेवामा कमी हुन नदिने  :: Sahakari Akhabar

काठमाडौं । कोरोना कहरकैबीच पनि राष्ट्रिय सहकारी बैंकको सेवामा कमी हुन नदिने बताइएको छ ।  कोरोना भाइरस (कोभिड १९)ले सेवा प्रभावहमा कठिनाइ सिर्जना भएपनि सेवा प्रभावाहमा कमी हुन नदिने बैकको व्यवस्थापकीय नेतृत्वले बताएको हो छ ।

आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समिक्षा र चालु आर्थिक वर्षका योजनाका बारेमा भर्चुअल बैठकमा छलफल गर्दै बैंकका अध्यक्ष केबी उप्रेतीले कोरोनाको संक्रमणका संकटपूर्ण अवस्थामा सुरक्षित भई सेवा दिन बैंक प्रतिबद्घ भएको बताए । सदस्यको सेवालाई थप प्रभावकारी बनाउन वैठक सहयोगी हुने उनको भनाइ छ ।

बैंकले विगतमा दिदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि सुझाव, समन्वय र सहकार्यमा जोड दिने उनले बताए । ‘गत आर्थिक वर्षमा बैंकले लिएको लक्ष्य पुरा भएको छ,’उनले भने,‘चालु आर्थिक वर्षका योजना र लक्ष्य पुरा गर्ने तरिकाले अगाडि बढ्नु पर्छ ।  समीक्षा कार्यक्रममा देशभरका ४४ वटा शाखाका प्रमुखले गत आर्थिक वर्षको प्रगति तथा चालु आर्थिक वर्षको लक्ष्यका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले लक्ष्य प्राप्तिका लागि शाखा र व्यवस्थापनबीचको समन्वय, आवश्यक नीति नियम निर्माणका लागि सञ्चालक समितिको भूमिका लगायतका विषयमा छलफल भएको बताए । ‘कोरोना संक्रमणका बीच पनि गत आर्थिक वर्षमा बैंकले लिएको लक्ष्य पुरा गरेको छ, वैठकले यो वर्षका कार्यक्रम तथा योजना निर्माण गरी कार्यान्वयनको खाका बनाउने छौं’ उनले भने ।

कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, उच्च व्यवस्थापन र शाखा प्रमुखहरु सहित ७० जनाको सहभागिता रहेको छ । बैंकमा देशभरका १२ हजार भन्दा बढी सहकारी संघ संस्थाहरु सदस्य छन् । सदस्य सहकारी संघ संस्थाहरुबाट बैंकले २ अर्ब २२ करोड शेयर पूँजि पुगेको छ । बैंकले ४७ अर्ब निक्षेप संकलन गरी २७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कुल सम्पत्ती ५१ अर्ब पुगेको छ ।

देशभर ४४ शाखा र केन्द्रीय कार्यालयबाट सदस्यहरुलाई सेवा दिदै आएको सहकारी बैंकले सहकारीलाई वित्तीय सेवाका साथै शिक्षा, तालिम, अध्ययन अनुसन्धान, संस्थागत विकास र स्तरीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारी विभाग र नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन रहने बैंकलाई थप २४ वटा शाखा सञ्चालनको अनुमति हालै प्राप्त भएको छ ।

थप शाखा सञ्चालनका लागि आन्तरिक काम भैरहेको र असोज मसान्त भित्र २४ वटा शाखा सञ्चालन गर्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिनुभयो । देशभर सञ्चालित सहकारीबीच पुग्ने लक्ष्यका साथ बैंकले योजना बनाएर काम गरेको छ । सहकारीमार्फत दीगो विकासमा योगदान गर्न बैंकले सबै विषयका सहकारीलाई सक्षम बनाउने लक्ष्य लिएको छ ।



Leave a comment