भक्तपुर । सूर्य विनायक नपा ४ गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । संस्थाले नवनिर्मित बहु आयामिक भवनबाट औपचारिक रुपमा कारोबार शुरु गरेको हो । संस्थाको १२ औ स्थापना दिवसको अवसरमा ७ आना २ पैसा क्षेत्रफलमा निर्मित आफ्नै ४ तले भवनबाट सेवा दिन शुरु गरेको अध्यक्ष विकास खड्काले जानकारी दिए ।
१८ महिनाको अवधिमा तयार गरिएको भवनबाट एकीकृत वित्तीय सेवा दिन शुरु गरिएको खड्काले बताए । ६ करोड रुपैयाको कुल लगानीमा निर्मित भवनमा लिफ्टसहित अत्याधुनिक सुविधा र सुरक्षा प्रविधि जडान गरिएको जनाइएको छ । भवनको १० तल्लासम्मको आर्किटेक्ट डिजाइन गरिएको र आगामी दिनमा तला थपेर विभिन्न संघसंस्थाहरुलाई ब्यवसायीक प्रयोजनका लागि भाडामा समेत दिन सकिने खड्काले जानकारी दिए ।
सूर्य विनायक नगरपालिकाको दक्षिणी भेगमा रहेका संघसंस्था र स्थानीय निकायले कुनै पनि कार्यक्रम गर्न चाहेमा संस्थाले सर्वसुलभ दरमा संस्थाको हल उपलब्ध गराउन सक्ने उनले बताए । हलमा सम्पूर्ण पूर्वाधार जडान सकिएको र १५० जनासम्म अटाउन सक्ने क्षमता रहेको छ । त्यस भेगका संघसंस्थाका लागि सेमिनार, गोष्ठी, तालिम जस्ता गतिविधि गर्न उपयुक्त हुने भन्दै अध्यक्ष खड्काले लाभ लिन समेत सबैलाई अनुरोध गरे ।
लघुवित्त समुह र सीपमूलक कार्यक्रम सञ्चालन गरी सदस्यहरुको आर्थिक स्तर उकास्न संस्थाले टेवा र्पुयाउँदै आएको छ । सूर्य विनायक नगरपालिकाभित्र आफ्नो छुट्टै पहिचान बनाउन सफल गाम्चाले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ । संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्म २ करोड २५ लाख शेयर पूँजी, १२ करोड बचत संकलन, सोही अनुपातमा ऋण लगानी, ३ हजार शेयर सदस्य, २३ करोड कुल पूँजी र्पुयाएको जनाएको छ ।
Leave a comment