बागलुङ । म्याग्दीको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सहकारीको प्रवद्र्धनमा पालिकाको यथेष्ट ध्यान पुग्न नसकेको बताएका छन् । सहकारी ग्रामिण क्षेत्रको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण माध्यम भए पनि प्रवद्र्धनमा पालिकाको ध्यान पुग्न नसकेको बताए ।
संगम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सञ्चालन गरेको ३ दिने सहकारी व्यवस्थापन तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष पुनले ग्रामिण क्षेत्रको विकासका लागि सहकारी उत्तम माध्यम भएको बताएका छन् । पूनले भने ‘आफुहरु पालिकाको नेतृत्वमा आएपछि पहिलो वर्ष अन्यौल नै रह्यो, दोस्रो वर्ष कार्ययोजना बनायौ, तेश्रो वर्ष कार्यान्वयन गर्ने तयारी गरेका थियौ, कोरोनाका कारण प्रभावकारी काम गर्न सकिएन ।’ अध्यक्ष पुनले भने, अब सहकारीसंगको सहकार्यलाई प्राथमिकता दिएर अगाडि बढ्छौ ।
समाज रुपान्तरणको महत्वपूर्ण आधारका रुपमा रहेको सहकारी क्षेत्रले कृषि, पशुपालन, पर्यटन लगायत उत्पादनमुलुक क्षेत्रमा योजना बनाएर अगाडि बढ्न उनको सुझाव छ । साउन २८ देखि ३० गतेसम्म सञ्चालित तालिममा हिमाली कृषि सहकारी संस्था गुर्जा, मुनाल कृषि सहकारी संस्था मुना, नमुना उद्यमशिलता वचत तथा ऋण सहकारी संस्था लुलाङ, धौलागिरी महिला वचत तथा ऋण सहकारी संस्था मुदीका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रवन्धक सहित २० जनाको सहभागिता रहेको थियो ।
तालिममा सहकारीका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार, सहकारीको वार्षिक योजना र कार्यान्वयन, सहकारी ऐन तथा निमावलीका प्रावधानहरु लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । तालिम राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
Leave a comment