सहकारीले ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न गण्डकी प्रदेशको उर्दी

सहकारीले ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न गण्डकी प्रदेशको उर्दी :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले ऋण लगानीको तीस प्रतिशत कृषि उत्पादन तथा प्रशोधन क्षेत्रमा लगानी गर्न गण्डकी प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्देशन गरेको छ ।

मन्त्रालयले परिपत्र जारी गरी गण्डकी प्रदेश अन्तर्गत रहेर संचालन भएका वित्तिय सहकारीहरुले लगानीको ३० प्रतिशत र उत्पादन सहकारीहरुले ७० प्रतिशत कृषि उत्पादन तथा प्रशोधन वा उत्पादन क्षेत्रमा लगानी गर्न भनेको छ ।

परिपत्रमा भनिएको छ ‘गण्डकी प्रदेशको सहकारी ऐन २०७५को परिच्छेद दफा ४७ उपदफा ९ मा बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाले आफ्नो ऋणको तीस प्रतिशत रकम कृषि उत्पादन तथा प्रशोधन वा उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने छ, भनि ऋण लगानीको निर्देशन गरेको तथा गण्डकी प्रदेशको प्रथम पञ्चवर्षिय योजना ०७६/०७७ ले तय गरेको उत्पादन क्षेत्रमा लगानी गर्ने नीति कार्यान्वयन गरिने ब्यवस्था गरेको हुँदा उक्त क्षेत्रका सबै सहकारी संस्थाहरुले कार्यान्वयन गर्न भनेको छ ।’

त्यसैगरी परिपत्रमा सहकारी संघ संस्थाहरुले लगानी नीति बनाई ऋण लगानी गर्न र लगानीको अभिलेख राखि चौमासिक रुपमा मन्त्रालयको सहकारी महाशाखामा बुझाउनपनि भनिएको छ ।



Leave a comment