हाइलाइट

पहिलो विशिष्टकृत सहकारी संघ स्थापना, अर्को पनि दर्ताको तयारीमा

पहिलो विशिष्टकृत सहकारी संघ स्थापना, अर्को पनि दर्ताको तयारीमा :: Sahakari Akhabar

काठमाडौं । नेपालमै पहिलोपटक दूग्ध व्यवसाय गर्ने उद्देश्यले  विशिष्टकृत सहकारी संघ स्थापना भएको छ । दूग्ध प्रशोधन गर्ने, पाउडर दूध बनाउने, दूधजन्य परिकार बनाउने उद्देश्यले सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ स्थापना भएको हो । उक्त संघमार्फत पाउडर दूध कारखाना स्थापना हुने संघको तदर्थ समितिका  सञ्चालक रामचन्द्र उप्रेतीले बताए । उनका अनुसार ३० करोड लागतमा कारखाना स्थापना हुन लागेको हो । त्यसमा सहकारीको १० करोड र प्रदेश सरकारको २० करोड रहनेछ । दूध कारखानाकालागि प्रदेश सरकारले आगामी आवमा १३ करोड उपलब्ध गराउने बजेटमा उल्लेख छ । दर्ताका क्रममा सहकारी संस्थाहरुले एक करोड लगानी गरीसकेका छन् । तीन महिनाभित्र सञ्चालक समिति चयन गरेर कारखाना स्थापना गर्ने उप्रेतीले बताए ।

प्रदेशका झापा, मोरङ, इलाम, धनकुटा, तेह्रथुमका सहकारीले दूग्ध क्षेत्रमा उल्लेख्य काम गरेका छन् । दूध क्षेत्रमा काम गर्ने सबै सहकारी समेटेर पाउडर दूधसँगै विभिन्न परिकार उत्पादन गर्ने संघको योजना छ । संघ स्थापना गर्न संस्थाले एक लाखदेखि २० लाखसम्म शेयर लगानी गरेका छन् । प्रदेशमा दूधको कारोबार गर्ने सबै सहकारी समेटिने बताए । अन्य प्रकृतिका सहकारीले पनि विशिष्टिकृत संघमा लगानी गर्न सक्ने छन् । तत्कालका लागि सुनसरीको तरहरामा कारखाना स्थापना गर्ने उनीहरुको तयारी छ । एक वर्षभित्र कारखाना सञ्चालन हुने छ । सच्चालक उप्रेतीले पहिलो चरणमा पाउडर उत्पादनमै जोड दिइने बताए । चकलेट बनाउन चकलेट फ्याक्ट्रीसमेत स्थपना गर्ने, डेरी ह्वाइटनर, बेबी दूध, ल्याक्टोजीन बनाउन सकिने उप्रेतीको भनाइ छ ।

प्रदेश बजेटले विशिष्टकृत सहकारी मोडेलमा दूधको उत्पादनलाई व्यवस्थित गर्नका लागि दूध प्रशोधन तथा परिकार विविधिकरणका लागि प्रोत्साहन गर्ने उल्लेख छ  । गत आर्थिक वर्षमा सुरुवात गरिएको धूलो दूध कारखाना विशिष्टकृत सहकारी संघमार्फत निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले विशिष्टिकृत संघ स्थापनाले नयाँ आयामको सुरुवात भएको बताए । प्रदेशमा ६ हजार सहकारी स्थापना भएका छन् । त्यसमध्ये आधाभन्दा बढी उत्पादन क्षेत्रमा सक्रिय छन् । उपाध्यक्ष पोखरेलले उक्त पाउडर दूध कारखानामा अरु प्रदेशको दूध पनि संकलन गर्ने गरी तयारी भइरहेको बताए । प्रदेशमा व्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषक बढेका छन् । अब उत्पादित दूध बिक्री नहुने समस्या हट्ने उनले बताए । यसका साथै दूधजन्य सामाग्री उत्पादन गरी सहकारीमार्फत अन्तरााष्ट्रिय बजारमा पु¥याइने उनको भनाइ छ । मिठाइ, चकलेट बनाउने, परिकारको विविधिकरण गर्ने संघको योजना छ ।

त्यस्तै प्रदेश १ मै तरकारी तथा फलफूलको बजारीकरणका लागि अर्को विशिष्टिकृत संघ दर्ता तयारी सुरु भएको छ । उक्त संघका लागि प्रदेशले १८ करोड बजेट  विनियोजन गरेको छ । त्यसमा ३० वटा सहकारीले १ करोड ३२ लाख संकलन गरिसकेका छन् । यसबाट तरकारी उत्पादन हुने तर बजार नहुने समस्या अन्त्य हुने पोखरेलेको भनाइ छ । अहिले सहकारी बजार नहुँदा किसानले उचित मूल्य नपाउने, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने एवम् विचौलियाबाट दुवै ठगिनुपर्ने अवस्था छ । सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ मा विशिष्टकृत सहकारी संघ स्थापना गर्न सक्ने व्यवस्था छ ।

सहकारीलाई उत्पादन र बजारीकरणमा केन्द्रित गर्न ऐनमै विशिष्टकृत संघको अवधारणा ल्याइएको हो । संघ सञ्चालन गर्न सञ्चालक समिति र लेखा समितिको निर्वाचन हुने भएपनि उक्त संघको सहकारीका अन्य निकायमा भोटिङ अधिकार हुदैँन । संघ स्थापना गर्न संयुक्त शेयर पुँजी कम्तीम १५ करोड, संस्थागत पुँजी तीन करोड, आवेदक संस्थाको शेयर पुँजी कम्तीमा एक करोड हुनुपर्ने र संस्था घाटामा नगएकोलगायत मापदण्ड व्यवस्था गरिएको छ । 



Leave a comment