गरिवी निवारणको क्षेत्रमा काम गर्न गण्डकी प्रदेशका सहकारीकर्मीहरुलाई सुझाव

गरिवी निवारणको क्षेत्रमा काम गर्न गण्डकी प्रदेशका सहकारीकर्मीहरुलाई सुझाव :: Sahakari Akhabar

बागलुङ । राष्ट्रिय सहकारी महासंघले सहकारी संघसंस्थाहरुलाई गरिवी निवारणको क्षेत्रमा काम गर्न सुझाव दिएको छ । राष्ट्रिय सहकारी महासंघले कोरोनाको असर र भावी नीति तथा कार्यक्रमको विषयमा गण्डकी प्रदेश अन्तरगतका सहकारीहरुसंगको भर्चुअल छलफलमा तीन वटै तहका सरकारहरुले ल्याएको योजनासंग सहकारी क्षेत्रलाई ऐक्यवद्ध गराउदै गरिवी निवारणका क्षेत्रमा काम गर्न सहकारीकर्मीहरुलाई सुझाव दिएका हुन् ।

छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले गण्डकी प्रदेश अन्तरगत क्रियाशिल सहकारी संघहरुका अध्यक्षहरु र गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरुलाई सुझाव दिएका हुन् । गण्डकी प्रदेश अन्तरगतका सहकारी संघ संस्थाहरुले स्वास्थ्य, सचेतना, कृषि, दुग्ध, तरकारी, फलफूल, सञ्चार, फोहोर व्यवस्थापन लगायत वित्तीय क्षेत्रमा सहकारीका सदस्यहरु र आम समुदायलाई सहयोग गरेको जानकारी दिएका थिए ।

सहभागीहरुले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा गण्डकी प्रदेशका सहकारीहरुले सहकारीका सदस्यहरु लगायत आम समुदायलाई कोरोनाको संक्रमण, यसबाट पर्न सक्ने प्रभाव र यसबाट जोगिन सकिने उपायका बारेमा सचेतना प्रदान गरेको, विपदको समयमा पनि सदस्यहरुलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री अभाव हुन नदिन समन्वयकारी भूमिका निर्वाह गरेको, आइसोलेन, क्वारेन्टिन निर्माण गरी जिल्ला स्तरीय विपद व्यवस्पान समितिसंग सहकार्य गरेको, केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेको विपद व्यवस्थापन कोषमा आर्थिक लगायत स्वास्थ्य सामग्री सहयोग लगायतका काम गरेको बताएका थिए । सदस्यहरुको कोरोना बिमा गर्ने, लकडाउन अवधीको ब्याजमा छुट, हर्जाना छुट लगायत सदस्य र समुदायका लागि सहकारीहरुले प्रभावकारी काम गरेको सहभागीहरुले बताएका थिए ।

कोरोनाको संक्रमण बढ्दै गएकाले थप सचेतना अभिवृद्धि गर्न, स्थानीय तहहरुसंग समन्वय गरेर स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा योजना निर्माण गरी रोजगारी सिर्जना गर्ने काममा सहकारीहरुको भूमिका बढाउनु पर्नेमा सहभागीहरुको जोड थियो । कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्ला मध्ये ९ जिल्लाका सहकारी संघका अध्यक्षहरुले जिल्लाको अवस्था, योजना र महासंघले गर्नु पर्ने सहयोगका बारेमा जानकारी गराएको राष्ट्रिय सहकारी बैंकका संचालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले जानकारी दिए ।



Leave a comment