ललितपुर । प्रदेश एकका सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी महासंघसंग मल, विउ सहज रुपमा उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् । उनीहरुले सहकारीको उत्पादन बजारीकरण गर्न र सहकारीमा तरलता व्यवस्थापनकालागि आवश्यक पहल गरिदिन पनि आग्रह गरे ।
राष्ट्रिय सहकारी महासंघले प्रदेश नम्वर एकमा रहेका सदस्य संघहरुसँग कोभिड १९ को असर र भावी नीति तथा कार्यक्रमका विषयमा जेठ २२ गते गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागहिरुले उक्त आग्रह गरेका हुन् । प्रदेश एकका सहकारी संघ÷संस्थाबाट कोरोना भाईरस रोकथाम तथा राहत कोषमा स्थानीय र प्रदेश सरकारलाई ५ करोड रुपैयाँ बराबरको सहयोग गरिसकेको जनाइएको छ ।
छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अगाडी वढ्न सुझाव दिएका छन् । उनले जिल्ला संघहरुको नेतृत्वमा स्थानीय र प्रदेश सरकारसँग सहयोग, सहन्वय र सहकार्य गर्न आग्रह गरेका हुन् । उनले भने ‘स्थानीय उत्पादनको प्रशोधन, भण्डारण र बजारीकरणका लागि स्थानीय सरकारसँग मिलेर सहकारी संघ÷संस्थाले काम गर्नुपर्छ ।
कतिपय पालिका र प्रदेशमा काम शुरु भइसकेको छ । यसलाई प्रभावकारी रुपमा लैजानका लागि प्रदेश र पालिकामा बन्ने नीति, कार्यक्रम तथा बजेटमा सहकारीलाई प्राथमिकता दिन लविङ गर्न जिल्ला संघहरुको महत्वपूर्ण भूमिका रहन्छ, ।’ उनले तरलता व्यवस्थापनका लागि समेत प्रदेश र स्थानीय सरकारसँग लविङ गर्नुपर्ने बताए ।
सहकारीको पुँजी अभियानकै नेटवर्कमा राख्नका लागि समेत अनुरोध गर्दै सहकारी अभियान सरकारको प्रतिस्पर्धी नभएर परिपुरक रहेकाले सबै तहका सरकारसँग समन्वय र सहकार्य गर्न आग्रह गरे । छलफलामा अध्यक्ष कँडेलले जिल्लास्तरीय संघहरुले समेत आफ्ना मातहतका संघ तथा संस्थाहरुको नियमित अनुमगन गरी संस्थागत सुशासनलाई बलियो बनाउनु पर्ने बताए । सहकारी एकीकरण र स्वनियममा जानुपर्नेमा अध्यक्ष कंडेलले जोड दिए ।
महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी संघ÷संस्थाले स्थानीय तहसँग सघन सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । उनले झापा र मोरङ जिल्लाले उद्धाहरणीय काम गरेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी–सहकारीबीचको व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने विषय महत्वपूर्ण रहेको बताउँदै तरलता व्यवस्थापनका लागि जिल्ला संघहरुको नेतृत्वमा जिल्ला तहमा भूमिका खेल्नुपर्ने बताइन् । उनले बिउ मलको अभाव, बजारीकरणको व्यवस्थापन लगायत महासंघका लागि आएका सुझावाहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरीन ।
महासंघका उपाध्यक्ष रमेश पोखरेलले मोरङमा १८ करोड लगानीमा बनेको भौतिक पुर्वाधारलाई प्रदेश सरकारद्वारा जिल्ला सहकारी संघलाई तरकारी तथा फलफूलको बजारीकरणका लागि प्रयोग गर्न दिएपछि नमुनाका रुपमा काम संचालन भएको र यसबाट प्रदेश सरकारलाई सहकारीले महत्वपूर्ण कार्य गर्न सक्छ भन्ने विश्वास दिलाउन सफल भएको बताए ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले झापामा सहकारीबाट छुट्टै पीसीआर बनाउनकालागि नेतृत्वहरुसंग छलफल भइरहेको समेत जानकारी दिए । उनले सरकार, निजी र सहकारीबीचको सझेदारीमा उद्योग संचालन गर्नुपर्ने धारणा राखे । प्रदेश १ मा १३७ पालिका छन् छलफलमा १४ जिल्लाका ५६ जनाको सहभागिता थियो । भर्चुअल बैठकको सहजीकरण महासंघका नायव महाप्रबन्धक बाबुल खनालले गरेका थिए ।
Leave a comment