काठमाडौं । गोकर्णेश्वर नगरपालिका रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको एटिएम कार्डबाट सेवा लिन सदस्यलाई अनुरोध गरेको छ । संस्थाले सदस्यहरुले लकडाउन अवधिभर जुनसुकै ठाउँको एटिएम प्रयोग गरेपनि कुनै शुल्क नलाग्ने जनाएको छ ।
सदस्यले घरमै बसेर स्मार्ट बैंकिङ प्रयोग गरी विभिन्न सुविधा लिन पाउने जनाएको छ । साथै संस्थाले गोकर्णेश्वर नपा वडा नं. २ मा रहेका अति विपन्न तथा दैनिक ज्यालादारी गरेर खाने १५० जनालाई १ लाख २५ हजार बराबरको राहत सामग्री वडा कार्यालयको सहकार्यमा वितरण गरेको संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी दिए ।
उनले हिन्दु स्वयंसेवकको सहकार्यमा रामजानकी स्कुलमा शुरु भएको मिलिजुली भोजन व्यवस्थापन समितिलाई विपन्न तथा दैनिक ज्यालादारीमा जीवीकोपार्जन गर्ने मानिसहरुलाई खाना वितरण गर्न ५० हजार रुपैया आर्थिक सहयोग समेत जानकारी दिए । संस्थाले लकडाउनका कारण गुजरा चलाउन समस्या भएको सदस्यहरुलाई ३ महिनाका लागि २.५ प्रतिशत व्याजदरमा २० हजार रुपैयासम्म सहुलियत ऋण दिन निर्णय गरेको छ ।
लकडाउन अवधिभर अस्पताल भर्ना भई उपचार गराएका सदस्यहरुलाई पनि ३ महिनाको लागि २.५ प्रतिशत ब्याजदरमा बढिमा ५० हजारसम्म ऋण दिने संस्थाका सहायक व्यवस्थापक शिवभक्त मानन्धरले जानकारी दिए ।
Leave a comment