काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले १९ औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ को विश्वव्यापी महामारीबीच अस्पतालहरुमा रगतको अभाव भइरहेकोले ब्लोड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा स्थापना दिवसको अवसर पारी उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा ६३ जना रक्तदाताहरुले रक्तदान गरेको संस्थाले जनायो ।
स्थापना दिवसकै अवसर पारेर सदस्यहरुले आफ्नो खाताबाट कुनै पनि बैंकमा रहेको आफ्नो खातामा घरमै बसी बसी रकम ट्रान्स्फर गर्न सकिने सुविधा र लोड टु वालेटमा प्रभु पे र खल्तीमा समेत रकम लोड गर्न सकिने सुविधा थप गरेको छ ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था २०५८ साल बैशाख ६ गते सीमित व्यक्तिबाट रकम संकलन गरि स्थापना गरिएको सहकारी संस्था हो । हाल संस्थामा ११ हजार ७ सय ७१ जना व्यक्तिहरु आवद्ध रहेको र संस्थाको कुल सम्पत्ति २ अर्ब रहेको छ ।
संस्थाले सदस्यहरुलाई बचत र ऋण सेवा बाहेक सामाजिक सुरक्षाका विभिन्न सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । यसै वर्ष घातक रोगहरुमा ५ लाख सम्मको खर्च उपलब्ध गराउने, सबैको १ लाख रुपैयाँको दुर्घटना बीमा गर्ने सुविधा थप गरिएको थियो ।
लकडाउको अवधिमा समेत संस्थाले हरेक दिन २ घण्टा कार्यालय खोली आफ्ना सदस्यहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउँदै आईरहेको छ भने एम्बुलेन्स तथा शववाहन सेवा २४ सै घण्टा सञ्चालन गरेको छ ।
कोभिड १९ तथा लकडाउनको कारणले प्रभावित भएका सदस्यहरुलाई राहत दिनको लागि रु. १५ हजार सम्म निर्व्याजी सापटी, रु २५ हजार सम्म अस्पतालको बील भुक्तानी र ५ देखि १५ प्रतिशत सम्म ऋणको ब्याजमा छुटको कार्यक्रम लागु गरेको छ । त्यसै गरी संस्थाले राष्ट्रिय आविष्कार केन्द्र तथा सरकारले स्थापना गरेको कोषमा समेत सहयोग गर्ने निर्णय गरी रकम हस्तान्तरण गर्ने कार्य सुरुवात समेत गरिसकेको छ ।
Leave a comment