काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गर्भनर बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । राष्ट्र बैंकमा ५ वर्षे कार्यकाल पूरा गरी डा.चिरञ्जीवि नेपाल चैत ४ गते राष्ट्र बैंकबाट बिदा भएका थिए । गभर्नर नियुक्तीको लागि मन्त्रिपरिषद्ले गत चैत ९ गते अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
समितिका सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए । सो सिफारिस समितिले डा.राजन खनाल, महाप्रसाद अधिकारी र राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले सिफारिस गरेमध्येबाटै अधिकारीलाई गभर्नरमा नियुक्ति गरेको हो ।
गभर्नरका रुपमा उनको कार्यकाल पाँच वर्ष रहने छ । मौद्रिक नीति तयार गरी कार्यान्वयन गर्नु र सरकारको सक्रिय आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु गभर्नरको मुख्य जिम्मेवारी हो । अब छापिने नयाँ नोटमा महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ ।
Leave a comment