सहकारी मार्फत मर्यादित कार्य ‘लभ पार्ने र जोडी बाँध्ने’

सहकारी मार्फत मर्यादित कार्य ‘लभ पार्ने र जोडी बाँध्ने’ :: Sahakari Akhabar

पहिलो चरणमा भोट बैंकको रुपमा जन्मिएका वा जन्माइएका अभिभावक नामका केन्द्रीय संघहरुको जोडी बाँधेर लगनगाँठो कस्दै चिरञ्जिवि अनि दिर्घजिवीको कामना गर्न सके, सहकारी मार्फत मर्यादित कार्यको एउटा सुरुवात हुने थियो

पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बाणिज्य बैंकहरुलाई सकभर जोडी बाँध्न नभए लभ मात्र भएपनि पार्न निर्देशनात्मक सुझाव दिए । गभर्नरको निर्देशन पालना गर्दै बैंकहरुले आफ्नो जोडी खोज्ने जमर्को गरिरहेकै छन् ।

नेपालमा भएका मेल \ फिमेल गरी जम्मा जम्मी २८ वटा बाणिज्य बैंकहरु अब आफू सुहाउँदो संगीको खोजी गर्नु हम्मे हम्मे पर्ने पक्का छ । किनकी २८ वटा मध्ये ४ वटा मात्र फिमेल रहेछन । सानिमा, लक्ष्मी, मेगा र कुमारी । सानिमासंग जोडी बाँध्ने कुरै भएन, लक्ष्मी, मेगा, कुमारीको पनि कसैन कसैसंग लसपस त भएकै होला ।

छानबिन गर्ने आँट गरे भने अनेक अधिकारकर्मीले आवाज उठाउलान । अव छानविन बिनै ह्वात्त कसरी हामफाल्नु आपतै छ । जे होस को संग क–कसको लभ पर्ने हो र कसले जोडी बाँध्ने हुन् भोलीको दिनले पक्कै देखाउने नै छ ।

बैंक पछि संख्यात्मक रुपमा पनि धेरै र जोडी नबाँधी नहुने चर्चाको विषय रहेको छ सहकारी । यसमा त झनै कुमारी पनि छिन, बसुन्धरा, उर्वसी, मेनका, पार्वती, राधा र अप्सरा लगाएतका कती कती । दिदी बहिनी, आमा, सानीआमा अनि मातृ शक्ती, स्त्रीशक्ती सवैखाले छन् । कृष्ण, शिव, हरी श्याम अनी राम पनि एकसे एक ।

बचतकी रानी, संचारिका, उद्यम गर्ने नगर्ने, तरकारी खेती गर्ने, पशुपालन गर्ने, घरघडेरी जोड्ने थरिथरिका अनि रुप एउटा काम एउटा, लिङ्ग खुलेका र नखुलेका पनि । जात मिल्ने, नमिल्ने सवै खाले भए पछि जोडी बाँध्न कठिननै भएन । बचत र बहुउद्धेश्यीय, जडीबुटी र कृषि, तरकारी र पशुपालन जस्ता इन्टरकाष्ट गरे पनि भो ।

यसले पनि पूर्ण स्वतन्त्रताका साथ लभ पार्न र जोडी बाँध्ने अनुमती पाएकै छ । पण्डित बाजेहरुको पनि कमी छैन, थरी थरीको विधिबाट जोडी बाध्न जानेका छन् । मन्त्र फुक्न थानेका छन् दुईलाई एक बनाउने की ? एकलाई तीन बनाउने ? खाली तपाई दरो दाम दक्षिणा तयार गर्नुस् ।

परिवार नियोजन गर्न विर्सियर बग्रेल्ती जन्मियका सहकारी पछिल्लो समय अस्थाई परिवार नियोजनका रुपमा केही समय ग्वाल ग्वालल्ती छाउरा जन्माउन छाडे पनि सुकेनास, कुपोषण र पोलियो लागेकाहरुलाई धामी झाँक्री, बैद्य तथा पण्डितहरुले ओखतीमुलो, झारफुक र सुनपानी छम्किएर विउँझाएपछि जनसंख्या गणनाको पछिल्लो तथ्याङ्ग अनुसार झण्डै ३६ हजारको हाराहारीमा पुगेको छ ।

यो संख्या वढे संगै पालनपोषण गर्ने रेखदेख गर्ने अभिभावकहरुले उचित स्याहार र संस्कार दिन नसकेपछि बल्ल होसचेत खुलेको छ । त्यसैले अव सहकारीको पनि मिल्दो जोडी खोजेर लगन गाँठो कसिदिने तर्फ सोच गएकोछ भने सकभर आफै लभ पारेर हुन्छ की, सुहाँउदो जोडी खोजेर हुन्छ एक हुन आब्ह्वान भएको छ ।

अर्को तर्फ विश्वले भर्खरै मात्र ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाएको छ । सहकारी मार्फत मर्यादित कार्य भन्ने थिमलाई कार्यन्वयन गर्न आग्रह पनि गरेको छ । नेपालको अहिलेको परिवेशमा यो थिम अति मेल खान्छ । ठ्याक्कै जानेरै नेपालकैलागि मात्र राखे जस्तो लाग्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ यसकालागि साधुवात छ ।

सहकारी मार्फत मर्यादित कार्य गर्नु पर्छ है भनेर सम्झाएकोमा । अव सहकारी मार्फत के कस्ता मर्यादित काम भएका छन् सवैले आ–आफ्नो टुप्पी समातेर मम भन्नु पर्ने भो । र के कस्ता काम सहकारी मार्फत मयार्दित हुन्छन् सवैले आफ्नो सहकारी मार्फत गरेका कामलाई मनन् पनि गर्नु पर्ने भो ।

भन्ने बेलामा लभ पार्ने, जोडी बाँध्ने र आकार ठूलो वनाएर सदस्यले चाहेको सेवा दिने भन्ने, अनी जोडी बाँधेको नाममा ग्वालग्वाल्ती बंगुरले बच्चा जन्माए जस्तै सेवाकेन्द्रको नाममा छरपस्ट छर्नु मयार्दित कार्य भित्र पर्छकी पर्दैन । उद्धेश्य किटान गरेपनि पैशा किनबेचमै सहकारीलाई सिमित राख्नु सहकारी मार्फत मर्यादित कार्य भित्र पर्छ की पर्दैन ।

सहकारी सदस्यकोलागि हो भनेर सहकारीका पण्डितहरुले मन्त्र फुके पनि उसैलाई ब्याजको बोझ बोकाउनु सहकारी मार्फत मार्यादित कार्य भित्र पर्छकी पर्दैन ? गाडी घोडा हुनेहरुकालागि सहकारी र घर जग्गामा भएको अधिकतम लगानीनै सहकारी मार्फत मार्यादित कार्य हो की !

अनुदानकालागि जन्मिएका सहकारी र भोटबैंकका रुपमा झोलामा भएका अभिभावक संघहरुको स्थापनानै सहकारी मार्फत भएका मर्यादित कार्य होलान की नहोलान !

हैनन् भने अव सहकारीका पण्डितहरुले सहकारीको पण्डित्याइ गर्न छाडेर पहिलो चरणमा भोट बैंकको रुपमा जन्मिएका वा जन्माइएका अभिभावक नामका केन्द्रीय संघहरुको जोडी बाँधेर लगनगाँठो कस्दै चिरञ्जिवि अनि दिर्घजिवीको कामना गर्न सके, सहकारी मार्फत मर्यादित कार्यको एउटा सुरुवात हुने थियो । की कसो त !



Leave a comment