काठमाडौं । राष्ट्रिय सहकारी बैंकले बाढीबाट प्रभावित सहकारी सङ्घसंस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । बैंकले भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद् प्रभावित सहकारी संस्थाहरूलाई सहयोग गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार विपद्का कारण सहकारी सङ्घसंस्थाका अभिलेख, प्रविधिगत सामग्री तथा भौतिक पूर्वाधारमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै विनियोजन गरिएको २० लाख रुपैयाँ सम्बन्धित जिल्ला सहकारी सङ्घहरूसँगको समन्वय तथा बैंकको सञ्चालक समितिबाट स्वीकृत मापदण्डबमोजिम वितरण गरिनेछ ।
यसैगरी, बाढीबाट बैंकको नुवाकोट शाखामा कार्यरत तीनजना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा केही कर्मचारीका आफन्तजन अझै सम्पर्कविहीन रहेको अवस्थामा बैंकका कर्मचारीहरूले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा सङ्कलन गरेको जनाएको छ।
सङ्कलित रकमबाट प्रभावित तीनजना कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले समेत एक दिन बराबरको बैठक भत्ता योगदान गर्ने भएका छन् भने, यस्तै, सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ ।
बैंकले विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया