काठमाडौं । धनगढी कैलालीको नवजीवन सहकारी संस्था र कैलाली हस्पिटल बीच स्वास्थ्य सम्झौता भएको छ । सहकारी र अस्पताल बीच सहकारीका सेयर सदस्यहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा नवजीवन सहकारी संस्थाका तर्फबाट अध्यक्ष गोपाल राज पाठक र कैलाली हस्पिटल प्रालिका तर्फबाट अध्यक्ष जनक राज जोशीले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा नवजीवन सहकारी संस्थाका उपाध्यक्ष उत्तम जोशी, सञ्चालक समिति सदस्य लक्ष्मीराज पन्त, महाप्रबन्धक प्रदीपराज जोशी, उपप्रबन्धक (कानून) जयन्द्र ठकुल्ला तथा हस्पिटलका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा.आकाश रावल, डा. बिवेक जोशी लगायतको उपस्थिति रहेको थियो ।
सम्झौतामा अस्पतालले प्रदान गर्ने स्वास्थ्य उपचारमा सहकारी संस्थाका सेयर सदस्य र निजका परिवारका सदस्य (आमा, बुबा, श्रीमान, श्रीमती र छोराछोरी) लाई छुटको सुविधा प्रदान गर्ने उललेख छ । त्यसैगरी संस्थाका सदस्यले अस्पतालको छुट सेवा लिंदा सेयर सदस्य रहेको प्रमाण खुल्ने कागजात को प्रतिलिपि पेश गर्नु पर्ने उल्लेख छ ।
सदस्यले ओपिडि टिकटमा ५० प्रतिशत, जनरल बेड (अस्पतालमा भर्ना हुदा ) २० प्रतिशत, क्याविन (अस्पतालमा भर्ना हुदा)२० प्रतिशत, आईसियू बेडमा २० प्रतिशत, एनआईसीयू बेडमा २० प्रतिशत, जनरल सर्जरी, अर्थोपेडिक, गाईनोकोलोजी १५ प्रतिशत, प्याथोलोजी टेष्ट १५ प्रतिशत छुट पाउनेछन् । त्यसैगरी भिडियो एक्सरे, एक्सरेमा १५ प्रतिशत, ईको, इन्डोसकोपी, इसिजीमा २० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट हुने जनाइएको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया