काठमाडौं । सहकारीहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकमा सिमित सदस्यको पहुँचमा मात्र ऋण सेवा पुगेको पाइएको छ । बैंकका जम्मा सदस्य मध्ये ८ प्रतिशत सदस्यले मात्र ऋण सेवा पाएका छन् । सहकारी बैंकले प्रकाशन गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार बैंकका १६ हजार ५२८ सदस्य मध्ये १ हजार ४५९ सदस्यले मात्र ऋण लिएका छन् ।
यो संख्या जम्मा सदस्यको ८.८३ प्रतिशत मात्र हुन आउँछ । सामान्यतया सहकारी संघ संस्थाले जम्मा सदस्यको तीस प्रतिशत सदस्यले ऋण उपभोग गरेको हुँदा जोखिम रहित संस्थाका रुपमा हेर्ने गरिएको छ । एउटै सदस्यलाई ऋणको भार बढी हुँदा र एकै सदस्यलाई धेरै ऋण लगानी हुँदा संस्था जोखिममा पर्नसक्ने विज्ञहरुको भनाइ छ ।
सहकारी बैंकका झण्डै ९१ प्रतिशत सदस्य ऋणको पहुँच बाहिर भएको देखिएको छ । बैंकले जम्मा सदस्यको झण्डै ९ प्रतिशत सदस्यलाई मात्र १३ अर्ब ९० करोड ४४ लाख ९६ हजार रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ । यसले गर्र्दा सहकारी बैंक सवै सहकारीको बैंक बन्न नसकेको गुनासो सहकारीकर्मीको रहेको छ ।
बैंकसंग भदौ मसान्तसम्म ७२.०२ प्रतिशत तरलता रहेको जनाएको छ । बैंकमा २ अर्ब ९४ करोड ७९ लाख ७९ हजार रुपैंयाँ सेयर पूँजी, १ अर्ब ४७ करोड ३१ लाख ४२ हजार जगेडा कोष तथा ११ करोड ९२ लाख ९२ हजार रुपैंयाँ अन्य कोषमा रहेको जनाएको छ । त्यसैगरी ४४ अर्ब ३७ करोड ९८ लाख २६ हजार रुपैयाँ कूल बचत रहेको बैंकको ५६ अर्ब ६१ करोड ४३ ४९ हजार कूल सम्पत्ती रहेको जनाइएको छ ।
Leave a comment