काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका केही सहकारी संस्थाहरूले सहकारी ऐन विनियम विपरीतका कार्यहरू गरेको महानगरपालिकाको ठहर छ । काठमाडौँ महानगरपालिका भित्र सहकारी ऐन तथा सो अन्तर्गत बनेका नियम विनियम विपरीतका कार्यहरू गरेको पाइएकोले कारबाही गर्ने जनाएको छ । पालिकाले सहकारी ऐन तथा सो अन्तर्गत बनेका नियम, विनियम विपरीत गरिएका कार्य कसुर मानिने भएकोले नगर्न निर्देशन समेत दिएको छ ।
महानगरपालिकाले सूचना प्रकाशन गरी महानगरपालिकाको सहकारी ऐन तथा सो अन्तर्गत बनेका नियम, विनियम विपरीतका कार्यहरू गरेको र गराएको पाइएकाले, कानूनतः कसुर मानिने हुँदा त्यस्ता कार्यहरू नगर्ने र नगराउन निर्देशन दिएको हो साथै महानगरपालिकाले कसैले त्यस्ता कार्य गरेमा काठमाडौं महानगरपालिका सहकारी ऐन अन्तर्गत कसुर गरेको मानिने जनाएको छ ।
(क) दर्ता नगरी वा खारेज भएको संस्था सञ्चालन गरेमा, वा कुनै व्यक्ति, फर्म वा कम्पनीले आफ्नो नाममा ‘सहकारी’ शब्द वा सो शब्दको अङ्ग्रेजी रूपान्तरण राखी कुनै कारोवार, व्यवसाय वा सेवा प्रवाह गरेमा ।
(ख) सदस्यको बचत यस ऐन तथा यस अन्तर्गत बनेका नियम, विनियम वमोजिम बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा ।
(ग) तोकिएकोभन्दा वढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रवाह गरेमा ।
(घ) समितिका सदस्य, व्यवस्थापक वा कर्मचारीले संस्थाको सम्पत्ति, वचत वा सेयर रकम हिनामिना गरेमा ।
(ङ) ऋण असुल हुननसक्ने गरी समितिका सदस्य, निजका नातेदार वा अन्य व्यक्ति र कर्मचारीलाई ऋण दिइ हिनामिना गरेमा ।
(च) समितिका सदस्यहरूले एक्लै वा मिलेमतोमा संस्थाको सेयर वा बचत रकम आफूखुसी परिचालन गरी संस्थालाई हानि नोक्सानी पुर्याएमा ।
(छ) झुट्टा वा गलत विवरण पेश गरी कर्जा लिएमा, कमजोर धितो राखी ऋण लिएको वा हिनामिना गरेमा ।
(ज) ऐन तथा नियम विपरीत लगानी गरेमा वा लगानी गर्ने उद्देश्यले रकम उठाएमा ।
(झ) कृत्रिम व्यवसाय खडा गरी ऋण लिएमा वा दिएमा ।
(ञ) धितोको अस्वाभाविक रूपमा वढी मूल्याङ्कन गरी ऋण लिएमा वा दिएमा ।
(ट) झुट्टा विवरणका आधारमा परियोजनाको लागत बढाई वढी ऋण लिएमा वा दिएमा ।
(ठ) एक पटक दिएको सुरक्षण फुकुवा नभई वा सोको मूल्यभन्दा बढी हुने गरी सोही सुरक्षण अन्यत्र राखी पुनः ऋण लिएमा वा दिएमा ।
(ड) ऋण लिएको प्रयोजन वाहेक अन्यत्र प्रयोग गरेमा वा गराएमा ।
(ढ) कागजात वा खातामा लेखिएको विवरण हटाउने, फेरवदल गर्ने, झुट्टा विवरण तयार गर्ने, मिति र अङ्क परिवर्तन गर्ने, जालसाजी गर्ने जस्ता कार्य गरेमा ।
(ण) धितोस्वरूप राखिने सम्पत्तिको मूल्याङ्कन गर्दा गलत मूल्याङ्कन गरी संस्थालाई हानि पुर्याएमा ।
(त) संस्थालाई हानि पुर्याउने उद्देश्यले अवैध लाभ लिन र दिन, उपहार, चन्दा कम मूल्यमा सेवा र वस्तु आदानप्रदान गर्ने वा गलत लिखत तयार गर्ने कार्य गरेमा ।
(थ) लेखापरीक्षण गर्दा झुट्टा प्रतिवेदन तयार गर्ने वा हानि हुने गरी लेखापरीक्षण गरेमा ।
(द) काठमाडौँ महानगरपालिका सहकारी ऐन को दफा ७९ बमोजिम अन्य कुनै कसुर गरेमा । सजायः कामपा सहकारी ऐनको दफा ७९ बमोजिम कसुर गरेमा कानून अनुसार सजाय हुनेछ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया