हाइलाइट

कर्णाली प्रदेशको उत्कृष्ट संस्था बन्यो सुर्खेतको बीरेन्द्रनगर साकोस

कर्णाली प्रदेशको उत्कृष्ट संस्था बन्यो सुर्खेतको बीरेन्द्रनगर साकोस :: Sahakari Akhabar

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था यो वर्षको उत्कृष्ट प्रदेशस्तरिय सहकारी घोषणा भएको छ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त संस्था कर्णाली प्रदेशको उत्कृष्ट सहकारी घोषणा गरेको हो ।

महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट उपसमितिका संयोजक खेमबहादुर पाठकले यो वर्ष सहकारी क्षेत्रमा विभिन्न विधामा पुरस्कृत हुने संस्था तथा व्यक्तित्वहरूको घोषणा गरेका थिए । उनले सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट सहकारी संस्था तथा ब्यक्तित्वहरुको घोषणा गरेका हुन् ।

वीरेन्द्रनगर साकोस कर्णाली प्रदेशबाट उत्कृष्ट संस्था घोषणा भएको पाठकले जनाए । उत्कृष्टलाई सहासंघले अन्तराष्ट्रिय सहकारी दिवसका दिन सम्मान गर्ने गरेको छ । महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसका दिन वर्षभरिका उत्कृष्ट संघसंस्था तथा ब्यक्तित्वहरु घोषणा गर्ने गरेको छ।

समुदायमा छरिएर रहेको पूँजी संकलन गरी सदस्यहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पूँजी एकीकृत गर्ने, आर्थिक समृद्धि, सामाजिक रूपान्तरण तथा सांस्कृतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले २७ जना व्यक्तिहरूको भेलाबाट २०५८ साल असार २२ गते यो संस्था स्थापना भएको हो ।

स्थापनाको २३ वर्ष पार गरिसकेको यस संस्थाले हाल सुर्खेत जिल्लाका १२ विभिन्न स्थानमा रहेका सेवाकेन्द्रहरू तथा वीरेन्द्रनगर–६, गणेशचोकस्थित केन्द्रीय कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । गत वर्षसम्म ८ वटा सहकारी संस्थाहरूलाई एकीकरण गरी एकीकृत संस्थाको रूपमा सञ्चालन हुँदै आएको थियो ।

संस्थाको कार्यक्षेत्र सुर्खेत जिल्लाका सबै स्थानीय तहहरू रहेका छन् । २४ हजार २८ जना सदस्य रहेको संस्थामा महिला १३ हजार ४३३, पुरुष सदस्य १० हजार ५७५ अन्य २० र बाल सदस्य ४ हजार ६०६ रहेका छन् । संस्थामा ऋणी शेयर सदस्य १ हजार ९०९ जना र ८२ कर्मचारी रहेका छन् ।

पछिल्लो समय संस्थाको शेयर पूँजी १६ करोड ८ लाख ९ हजार २ सय, बचत १ अर्ब ३० लाख ३४ हजार ८९७ रुपैंयाँ र ऋण लगानी १ अर्ब १२ करोड ९८ लाख ४० हजार ७०७ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको जगेडा कोषमा ६ करोड ५३ लाख ८७ हजार ७८५ रुपैंयाँ तथा कुल संस्थागत पूँजी ६ करोड ८५ लाख २८ हजार ९६६ रुपैयाँ र संस्थाको कुल सम्पत्ति १ अर्ब ४२ करोड ५१ लाख ४० हजार ५८६ रुपैंयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले जानकारी दिए ।



Leave a comment