सहकारीका केन्द्रीय संघहरु र बैंकका पदाधिकारी र बरिष्ठ कर्मचारीहरुले प्रारम्भिक सहकारीहरुमा आएर एउटा मन्त्र खुव घोकाउथे – “नीति, विधि र प्रविधी” । सहकारीका सञ्चालकहरुले सहकारीको विधि पालना नगरेका कारण धेरै सहकारीहरुले हजारौ ब्यक्तिको बचत डुवाए ।
समग्र सहकारी पद्धतिलाई नै रक्षात्मक बनाए । तर “नीति, विधि र प्रविधी” जसले बढि पढाउने गर्दथे उनिहरुले नै पालना गरेनन् र सहकारी बैंक र नेफ्स्कून संगै अप्ठेरोमा पुगे । त्यहाँका सञ्चालक र माथिल्लो ब्यवस्थापनले “नीति, विधि र प्रविधी”लाई भाषणको विषय बनाए तर पालना गरेनन ।
अर्थात हिजो दलका बरद आशिर्वादबाट सहकारीको शिर्षासनमा पुगेकाहरुले “नीति, विधि र प्रविधी” लाई आफुहरुले ब्यवहारमा प्रयोग गर्ने आवश्यकता नै ठानेनन् । प्रारम्भिक संस्थाका प्रतिनिधीहरुले सहि ठाउमा सहि ब्यक्तिको छनौट गर्न सकेका छैनौँ ।
दलका नेताहरुले तोकेका उनिहरुका सहयोगी शक्तिका पूजारीहरुलाई आँखा चिम्लिएर महान ठान्दा धेरै प्रारम्भिक सहकारीहरुले दुख पाएका छन् । सहकारी बैंकमा करोडदेखि दश करोडसम्म शेयर हालेका सहकारीहरुले कुन रुपको पिडा भोगेका होलान ? नीति र विधीको उल्लंघनको हदहेर्ने हो भने संस्थाको कुल पूँजीको १५ प्रतिशत भन्दाबढि रकमसम्म सहकारी बैंकमा लगानी गर्न हौसाएर अहिले ति सञ्चालकहरुको के हाल होला कल्पना गरौँ ।
अरु कुनै सहकारी संस्था वा संघको सञ्चालक समितिमा नरहेको, कुनै पनि दलको केन्द्रिय तहको पदमा नरहेको, बैंक वित्तिय संस्था वा हाइड्रो र रियलस्टेटको खेलाडी नहोस, सहकारी बैंकको लगानीमा नीजि लाभ (आर्थिक वा दलीय लाभ) को अपेक्षा नगरोस, आफै उदाहरण बनेर टिम र समग्र शेयरहोल्डर संस्थाहरुमा उदाहरणीय नेतृत्व प्रदान गर्न सकोस, राम्रो क्षमता भएका, विषयवस्तुको ज्ञान भएका र सहकारीको मूल्य र मान्यतालाई नै जीवन दर्शन र जीवन शैली ठान्नेहरु अहिलेको सहकारी बैंकको नेतृत्व हुन आवश्यक छ ।
दलका नेताहरुको छेउमा उभिएर फोटो खिच्दै फेसबुक रंगाउनेहरुलाई विश्वास गर्दा परिणाम नकारात्मक हुनेछ । सहकारी अभियान समाजवादको आधारशिला हो तर सहकारी नेताहरुमा यस्तो गुण कम छ । सहकारी बैंकमा कस्तो नेतृत्व चाहिन्छ भन्ने सन्दर्भमा सहकारीकै मूल्य र मान्यतालाई आत्मसात गर्ने, सामुहिक हितको आदर्श भएका, सहकारीलाई अर्थतन्त्रको तेश्रो खम्वा बनाउने चेत भएका, निजी स्वार्थ, निजी लाभ, दलीय शक्तिको खेलबाट टाढा भएको इमान्दार ब्यक्तिहरु नै अहिलेको खाँचो हो ।
Leave a comment