काठमाण्डौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड प्रति नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। जारी मापदण्डले सहकारीको पूँजि विचलित गराउने कार्यमा प्रसय गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ऐन २०७४ र नियमावली २०७५ का व्यवस्था मार्फत संघ र संस्थाहरुलाई दिएको अधिकार कुण्ठित हुने गरी जारी भएको मापदण्ड तत्काल परिमार्जन गरी जारी गर्न माग गरेको छ ।
त्यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय संघ, बचत तथा ऋण सहकारी अभियानलाई भद्र अवज्ञा गरी दवाव सृजना गर्न सार्वजनिक आव्हान गर्ने साथै सम्पूर्ण संघ संस्थालाई विचलित नभई संयमित भई अभियानमा ऐक्यवद्धता कायम गर्दै नियमित कारोबारलाई सुचारु गर्न समेत अनुरोध गर्दछौ ।’
प्राधिकरणको मापदण्ड बचत तथा ऋण सहकारीको विश्वव्यापी मूल्य, मान्यता, सिद्धान्त र अन्तराष्ट्रिय अभ्यासको प्रतिकुल हुने गरी आएको नेफ्स्कूनको भनाइ छ ।
बचत तथा ऋण सहकारी अभियानको नेतृत्वदायी संघहरुमा प्रारम्भिक संस्थाहरुले राखेको तरलतालाई गणना नहुने व्यवस्था र प्रारम्भिक संस्थाहरुको बृद्धि र विकासलाई संकुचन हुने गरी मापदण्ड जारी हुनुले अभियानलाई धरासायी बनाउने नेफ्स्कूनको भनाइ छ ।
बचत तथा ऋण सहकारीले आफ्नो तरलता एवं बचत र ऋणको कारोबार आफ्नै संघहरु मार्फत परिचालन गर्ने पद्धतीलाई कमजोर बनाई सहकारीको पूँजि विचलित गराउने कार्यमा प्रसय गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेफ्स्कूनले समग्र बचत तथा ऋण सहकारी अभियानको साझा धारणाका साथ आगामी कार्यक्रमहरु सार्वजनिक गरिने समेत विज्ञप्तीमा भनिएको छ । सहकारी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी नियमनका लागि जेठ ९ गते मापदण्ड जारी गरेको थियो ।
यो पनि पढ्नुहोला
Leave a comment