अकूमा नयाँ सञ्चालक समिति चयन, नेफ्स्कून वैकल्पिकमा 

अकूमा नयाँ सञ्चालक समिति चयन, नेफ्स्कून वैकल्पिकमा  :: Sahakari Akhabar

काठमाडौं । एशियाली ऋण महासंघ (अकू)मा नयाँ सञ्चालक समिति चयन भएको छ । इन्डोनेसियाको बालीमा भएको अकूको ४३औं वार्षिक साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । नेपालबाट नेफ्स्कून र श्रीलंकाको केन्द्रीय बचत संघ सानसा वैकल्पिक सदस्य चुनिएका छन् ।

दुवै देशले समान मत प्राप्त गरेकाहुनाँले नेपालबाट (नेफ्स्कून) पहिलो नम्बरमा पर्न सफल भएको हो । नेपालबाट नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा श्रीलंकाली केन्द्रीय बचत संघ सानसाका एडी वालिसिङ्घेलाई वैकल्पित निर्वाचित गरेको हो ।

सभाले दक्षिण कोरिया (योनसिक किम), इन्डोनेसिया (डा.वारा साबोन डोमिनिकस), ताईवान (ली चुन फेन), थाइल्याण्ड (दानुक्रित कालाम्पाकोम) र फिलिपिन्स (सोलेड्याड भि. कावान्गिस) लाई सञ्चालक निर्वाचित गरेको हो । वैकल्पिक सञ्चालक मध्येपनि पहिलो नम्बरमा पर्ने सदस्य सञ्चालक बन्ने सम्भावना प्रवल रहन्छ ।

अकू सञ्चालक समितिका निर्वाचितमध्ये कारणवश कुनै सञ्चालकको पद रिक्त भएमा स्वतः पहिलो नम्बरमा रहेको संघको प्रतिनिधि सञ्चालक बन्ने प्रचलन छ । यसअघि, अकूको सञ्चालकमा नेफ्स्कूनबाट पहिलो पटक चुनिएका संघका तत्कालिन अध्यक्ष ऋषिराज घिमिरे यसैगरी वैकल्पिक सञ्चालकमार्फत कोषाध्यक्ष बनेका थिए ।

विगतमा पनि नेफ्स्कूनले यस्तो वैकल्पिक सञ्चालक भएका कारण यो पटकको उपलब्धिले थप सम्भावनाहरुको ढोका खुल्ने संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । उनले भने, ‘साझा क्षेत्रीय मञ्चमा हाम्रो उपस्थितिलाई यो सम्भावनाले थप बलियो बनाएको छ । नेपालको साकोस अभियानका विषयहरु अकूको फोरममा अब अझ प्रखर रुपमा प्रस्तुत गर्ने अवस्था सृजना भएको छ ।’

साधारण सभाले सन् २०२३ सेप्टेम्बर १७ मा काठमाडौंमा सम्पन्न ४२औं साधारण सभाको माइन्यूट स्वीकृत गर्नुका साथै अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा व्यवस्थापनको तर्फबाट प्रमुख कार्यकारी अधिकृतको प्रतिवेदन पारित गरेको छ भने बाह्य लेखापरिक्षकको नियुक्ति पनि गरेको छ ।

यसैगरी, सभाले अकूको आर्थिक वर्ष २०२४ (२५ को योजना तथा बजेट पारित गर्नुका साथै प्रत्येक सदस्य संघहरुले आफ्ना गतिविधि समेटिएको संक्षिप्त लिखित प्रतिवेदन पढेर सुनाएका छन् । नेपालबाट नेफ्स्कून तथा सहकारी बैंकका संचालक र कर्मचारीहरुका साथै साकोसकर्मीहरुको सहभागीता रहेको थियो ।



Leave a comment