हाइलाइट

सहकारी विभागको ३० दिने अल्टिमेटमले संचालकमा कोलाहल, पार्टी गुहार्दै सहकारी नेता

सहकारी विभागको ३० दिने अल्टिमेटमले संचालकमा कोलाहल, पार्टी गुहार्दै सहकारी नेता :: Sahakari Akhabar

काठमाडौं । सहकारी ऐन ०७४ मा भएको ब्यवस्था कार्यान्वयन गर्न नदिन सहकारीका संचालकले राजनीतिक पार्टी गुहारेका छन् । संघिय सहकारी विभागले ऐन कार्यान्वयनकालागि जारी गरेको निर्देशन कार्यान्वयन नगर्न सहकारी महासंघका संचालकले नेकपा एमालेलाई गुहारेका हुन् ।

हालै संघिय सहकारी विभागले सहकारी ऐनमा भएको दोहोरो पदको ब्यवस्था कार्यन्वयन गर्न निर्देशन जारी गरेको थियो । उक्त निर्देशनलाई रोक्न नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले प्रेस विज्ञप्ती जारी गरेको छ।

संघिय सहकारी विभागले गत असार १९ गते सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ५ मा भएको ब्यवस्था कार्यन्वयन गर्न भनेको छ । ऐनको उक्त दफामा कुनै ब्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको संचालक हुनसक्नेछ भन्ने ब्यवस्था छ। विभागले ३० दिन भित्र एउटा मात्र संस्थाको संचालक पद कायम राखि अन्यको हकमा त्याग्नुपर्ने निर्देशन जारी गरेको छ।

ऐनमा भएको सोही ब्यवस्थालाई कार्यन्वयन गर्न सहकारी विभागले निर्देशन जारी गरेको थियो। सहकारी ऐन संसोधन भएर आएको सात वर्ष भएको छ, यदी ऐन प्रारम्भ हुनु अघि एक भन्दा वढी संस्थाको संचालक भएको भए तीन वर्ष भित्र कार्यान्वयन गरिसक्नुपर्ने ब्यवस्था उैनले गरेको छ।

यस अवधि सम्म मौन बसेको सहकारी अभियान सहकारी विभागको निर्देशन पछि ऐन कार्यान्वयन नगर्न चलमलाएको हो । सहकारी विभागले निर्देशन जारीगरेपछि राष्ट्रिय सहकारी महासंघका एकहुल संचालकले रजिष्ट्रारलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् भने असार २५ गते उक्त निर्देशन कार्वान्वयन नर्गन प्रेस विज्ञप्ती नै जारी गरेको छ।

सोही दिन असार २५ गते नै नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागले पनि सोही ब्यहोराको प्रेस विज्ञप्ती जारी गरी उक्त निर्देशन तत्काल जारी नगर्न भनेको छ । राष्ट्रिय सहकारी महासंघका संचालकहरु नेकपा एमाले निकट तथा अधिकांश दोहोरो पदमा रहेका छन् । त्यसैगरी अधिकांश केन्द्रीय सहकारी संघका संचालकहरु पनि दोहोरो पदमा रहेका छन् ।

एकैदिन पार्टी र महासंघको एउटै ब्यहोराको प्रेस विज्ञप्ती

सहकारी विभागको उक्त निर्देशन प्रति आत्तिएका एमाले निकट सहकारीकर्मीले रजिष्ट्रारलाई निर्देशन कार्यान्वयन नगर्न पार्टी गुहारेको देखिन्छ । किनकी राष्ट्रिय सहकारी महासंघका अधिकांश संचालकहरु नेकपा एमाले निकट र उक्त पार्टीको सहकारी विभागमा रहेका छन् । महासंघले जारी गरेको प्रेस विज्ञप्तीको ब्यहोरा र नेकपा एमालेको सहकारी विभागले जारी गरेको प्रेस विज्ञप्तीको ब्यहोरा हुबहु छ।

राष्ट्रिय सहकारी महासंघले असार २४ गते सहकारी विभागमा रजिष्ट्रारलाई विज्ञप्ती बुझाएका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल, उपाध्यक्ष इन्दिरा पन्त, लेखा सुपरिवेक्षण समितिका संयोजक भिम तुलाचन, संचालकहरु टेक प्रसाद चौलागाई, काशीचन्द्र बराल, परितोष पौड्याल, प्रेम सुवेदी, पार्वती न्यौपाने, हरिहरनाथ योगी, छत्र रिमाल, सुमन नेपाल र महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांगले विज्ञप्तीमा सहभागी रहेका थिए ।

त्यसको भोलीपल्ट असार २५ गते महासंघले विज्ञप्ती जारी गरेको थियो । असार २५ गते नै नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको बैठक बसि प्रेस विज्ञप्ती जारी गरेको छ । दुवै संस्थाले जारी गरेको विज्ञप्ती हुबहु एउटै ब्यहोराको छ।

दुवैले दोहोरो पद कार्यान्वयन गर्न नहुने र सदस्यको हकमा तुरुन्त लागु गर्नुपर्ने उल्लेख गरेका छन् । उक्त निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचमै नेतृत्व छोड्दा अन्यौल सिर्जना भई सहकारी अभियान सञ्चालन व्यवस्थापन मै विशम् अवस्था सिर्जना हुने जनाएको छ । विद्यमान असहज अवस्थालाई थप समस्या सिर्जना गर्ने भएकोले उक्त निर्देशन तत्काल कार्यान्वयन नगर्नको निम्ति आग्रह गर्दछौं, विज्ञप्तीमा उल्लेख छ।

सहकारी ऐन २०७४ को प्रभावकारी कार्यान्वयन गरी कर्जा सुचना केन्द्र, कर्जा असुली न्यायधीकरण, कालो सुची सम्बन्धी व्यवस्था तथा बचत तथा कर्जा सुरक्षण कोषजस्ता ऐनका प्रवद्र्धनात्मक व्यवस्थाहरू तत्काल कार्यान्वयन गरी बचतकर्ता सदस्यहरूको बचत सुरक्षणमा प्रभावकारी पहलकदमीका लागि समेत नेपाल सरकारसँग जोडदार माग गर्दछौ, दुवै विज्ञप्तीमा उल्लेख छ।

यसरी एउटा पार्टी र सहकारी महासंघले एकैदिन सहकारी विभागलाई एउटै ब्यहोराको निर्देशन जारी गर्नुले र अन्यदलहरुले यस विषयमा नबोल्नुले सहकारी महासंघ एमाले पार्टीको निर्देशनमा संचालन हुनेगरेको छ भन्ने अडकल गर्न सकिने सहकारीकर्मी बताउँछन् ।

यस्तो छ प्रेस विज्ञप्ती -

को को छन् महासंघका संचालक पार्टीको सहकारी विभागमा

रमेश पोखरेल, बरिष्ठ उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
परितोष पौडेल, संचालक राष्ट्रिय सहकारी महासंघ ( विभाग सचिव )
डीबी बस्नेत, उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
खेमबहादुर पाठक, उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
टेकप्रसाद चौलागाई, संचालक, राष्ट्रिय सहकारी महासंघ
भीम तुलाचन, लेखा समिति संयोजक, राष्ट्रिय सहकारी महासंघ

अन्य सहकारीका संचालकहरुः

रामचन्द्र उप्रेती, एनएमसी सहकारी अध्यक्ष
महेन्द्र गिरी, सहारा नेपाल साकोस, प्रवन्ध संचालक
मिना ढकाल, उपाध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ
शान्ती अधिकारी, उपाध्यक्ष नेफ्स्कून
खेम सुवेदी, संचालक नेफ्स्कून
रामशरण शर्मा, अध्यक्ष पर्यटन सहकारी केन्द्रीय संघ
देवराज पराजुली, महासचिव, पर्यटन सहकारी केन्द्रीय संघ
जिवसराज खड्का, महासचिव बागमति प्रोस्कून
रामहरी बजगाई, अध्यक्ष जिल्ला बचत संघ, ललितपुर
रामबहादुर जिसी, संचालक, सहकारी बैंक
हरिहरनाथ योगी, पूर्व संचालक सहकारी बैंक

सहकारी नेताको दोहोरो रुप

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले गत मंसिर ८ गते सहकारी विभागलाई सहकारी ऐनको दफा ४१ को उपदफा ५ मा भएको ब्यवस्थाको ब्याख्या गरिदिन पत्र पठाएको थियो । मंसिर १० गते चलानी नम्बर ६१२ को पत्रमार्फत सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्थाको ब्याख्या गरेर पत्रको जवाफ पठाएका थिए ।

जवाफमा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यसअघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने भन्ने ब्यहोराको ब्याख्या सहित कार्यान्वयनकालागि आदेश दिएका थिए ।

नेफ्स्कूनले उक्त ब्यवस्थाको कार्यान्वयनकालागि विभागसंग ब्याख्या समेत गराएको देखिन्छ । तत्कालिन नेफ्ूकूनका अध्यक्ष रहेका परितोष पौड्याल हाल सहकारी महासंघका संचालक तथा नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिव हुन् । त्यसबेला नेफ्स्कूनले पौष ७ र ८ गते निर्वाचन सहितको साधारण सभा गर्दै थियो ।

संघको निर्वाचन सहितको साधारण सभाको मुखैमा ऐनमा भएको उक्त ब्यवस्थाको ब्याख्या गर्न लगाइएको देखिन्छ । तर नेफ्स्कून आफैले ब्याख्या गर्न लगाएको उक्त ब्यवस्था अहिलेसम्म पनि पूर्ण पालना गरेको छैन भने अधिकांश नेताहरु उक्त ब्यवस्था कार्यान्वयन गर्ननहुने भन्दै विभागमा डेलिकेशन जानेगरेको देखिन्छ । सहकारी विभागले सोही बुँदा कार्यान्वयन गर्न भनेपछि महासंघले बिरोध त गर्यो नै पार्टीको सहकारी विभाग मार्फत कानुन कार्यान्वयन नगर्न प्रेसर दिइएको छ।

यस्तो छ नेफ्स्कूनले ब्याख्या गराएको बुँदा-

संचालकलाई काखा सदस्यलाई पाखा

सहकारी विभागले जेठ ३१ गते दोहोरो सदस्यता लिएका सहकारीका सदस्यलाई निर्देशन जारी गरेको थियो । विभागले सहकारी ऐनको दफा ३२ को उपदफा १ मा भएको कुनै ब्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एक भन्दा बढी संस्थाको सदस्य हुन नपाउने ब्यवस्थालाई कार्यान्वयन गर्न निर्देशन जारी गरेको थियो ।

उक्त निर्देशनको स्वागत गर्दै महासंघले असार १३ गते मार्ग निर्देशन जारी गर्यो । मार्ग निर्देशनमा सहकारी मूल्य मान्यता र सिद्धान्त पालना गर्न महासंघ कटिबद्ध रहेको भन्दै सदस्यहरुलाई पनि कानुनमा भएको ब्यवस्था पालना गर्न निर्देशन दियो ।

सोही कानुनमा भएको त्यस्तै प्रकृतिको संचालकको दोहोरो पद कार्यन्वयनको विषयमा चाँही महासंघ चुकेको देखिन्छ । कानुन कार्यान्वयन नगर्न सहकारी विभागमा रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाउन र प्रेस विज्ञप्ती नै जारी गर्न भ्याएका छन् ।

महिनौं दिन सडकमा बचतकर्ताले धर्ना दिंदा सदस्यको विषयमा केही नबोलेको महासंघ संचालकको विषयमा भने राजनीतिक दललाई समेत गुहारेको छ । यसरी सहकारी महासंघ सदस्य र संचालकले कानुन पालना गर्ने विषयमा पक्षपाती ब्यवहार गरेर सहकारीका गैर कानुनी संचालक बचाउन लागीपरेको छ।

यो पनि पढ्नुहोला

दोहोरो पदमा बस्न नपाउने ब्यवस्था लागु गर्न नेफ्स्कूनलाई सहकारी विभागको आदेश



Leave a comment