काठमाडौं । सहकारी संघ संस्थामा दोहोरो पदमा बस्न नपाउने ब्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले आदेश दिएको छ । सहकारी विभागले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र लेख्दै सहकारीमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्था लागु गर्न आदेश दिएको हो ।
मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदको ब्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न आदेश दिएको हो ।
सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने व्यहोरा आदेशानुसार अनुरोध छ, पत्रमा भनिएको छ ।
अहिले प्रारम्भिक सस्था, विषयगत जिल्ला संघ, प्रदेश संघ र केन्द्रीय संघ समेतमा एकै ब्यक्ति संचालक रहेको अवस्था भएकोले सहकारी विभागले कानुन कार्यान्वयन गर्न आदेश दिएको हो । यही पुष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा हुनगइरहेको छ।

Leave a comment